४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नख्खु विस्फोटमा संलग्नलाई तत्काल कारबाही गर्न सांसदको माग



काठमाडौं ।
प्रतिनिधिसभाका सांसदले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन ।
उक्त बम विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
उहाले बम विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विस्फोटमा परेर गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए। त्यसैगरी सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको थियो । उहाले उक्त जिप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छाबिन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  ७ : ५८ बजे