५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश ५ मा जिल्लापिच्छे फरक–फरक राजधानीको दाबी, नाम लुम्बिनी हुने सम्भावना बलियो



मायादेवी अनलाईन ।
जिल्लापिच्छे फरक–फरक राजधानी र नामकरणको दाबी गरिएको छ । प्रदेशसभा विशेष समितिले केही दिनदेखि स्थायी राजधानी र नामकरणका लागि विभिन्न जिल्लामा सुझाव संकलन थालेको छ । प्रायः जिल्लाले राजधानीमाथि दाबी गरेका छन । धेरै जिल्लामा प्रदेशको लुम्बिनी नामकरण हुनुपर्ने राय संकलन भएको छ ।
पाल्पाको तानसेनमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागीले नामकरण लुम्बिनी र स्थायी राजधानी बुटवल हुनुपर्ने सुझाव दिएका छन । सहभागीले नामकरण ‘लुम्बिनी’ हुनुपर्नेमा जोड दिए भने स्थायी राजधानी बर्दियादेखि रुकुमपूर्वसम्मलाई सहज हुने स्थान रोज्न सुझाए ।
‘राजधानी सबै जिल्लालाई पायक पर्ने स्थानमा हुनुपर्छ भन्ने लाग्छ,’ नेकपाका नेता धनेन्द्रराज घिमिरेले भन्नुभयो ‘यस विषयमा सबैको सुझावलाई कार्यान्वयन गर्नुपर्छ ।’
कपिलवस्तुका स्थानीयले जिल्लामा स्थायी राजधानी तोक्न सुझाव दिएका छन् । उनीहरूले नाम लुम्बिनी राख्न सुझाव दिए । यहाँ बुधबार आयोजित सुझाव संकलन अन्तर्क्िरयामा बोल्दै कपिलवस्तुवासीले २६ सय वर्षअघि शाक्य गणराज्यको राजधानी रहेको ठाउँ आसपासलाई समेटेर स्थायी राजधानी बनाउन माग गरे ।
बाँकेका अगुवाले राजधानी सबै जिल्लाको पायक स्थानमा हुनुपर्ने सुझाव दिएका छन् । उनीहरूले संघीयताको अनुभूति दिलाउन सबैको सहज पहुँचमा राजधानी हुनुपर्ने बताए । त्यसका लागि बाँके उपयुक्त रहेको उनीहरूको दाबी छ ।
प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव संकलन विशेष समितिलाई बाँकेका अगुवाहरूले लिखित रूपमै सुझाव दिएका हुन् । सुझावमा बाँकेमा नभए दाङको भालुबाङमा राजधानी सहज हुने उनीहरूको भनाइ छ । राजधानीलाई आवश्यक पर्ने भौतिक संरचना र पर्याप्त खाली जग्गा बाँकेमा उपलब्ध छ । त्यस्तै राजधानीलाई आवश्यक पर्ने प्राकृतिक स्रोत साधन र पानी पर्याप्त रहेको दाबी गरिएको छ ।
दाङको घोराही र तुलसीपुरमा मंगलबार प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी सुझाव संकलन भएको छ । नागरिकले सबैलाई पायक पर्ने, पर्याप्त संरचना निर्माणका लागि जग्गा भएको, सुरक्षाका हिसाबले अनुकूल र पानी तथा वातावरण स्वच्छ भएको स्थानलाई राजधानी तोक्न सुझाव दिएका छन । सुझाव संकलन कार्यक्रममा बोल्ने वत्ताले राजधानीका लागि दाङ उपयुक्त भएको दाबी गर्दै विभिन्न आधार प्रस्तुत गरेका छन । नामकरणमा भने अधिकांशले लुम्बिनी प्रदेशराख्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  १ : २८ बजे