४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरिया गन्तव्यका उज्याला र अध्यारा पक्षहरु



मायादेवी अनलाइन ।

दक्षिण कोरियाले सन् २०१९ मा सबैभन्दा धेरै नेपाली कामदार लैजाने भएको छ । अर्थात् नेपालले अब १० हजार ५० जना नेपाली कामदार आगामी बर्ष कोरिया लैजाने छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको आजभन्दा एक हप्ता अगाडी मात्र जानकारी गराएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । अन्य देशका कामदारले भन्दा नेपाली कामदारले इमान्दारपूर्वक काम गरेको, नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको, अन्य देशका कामदारभन्दा बढी मिहिनेती देखिएको इत्यादी कारणले नेपाली कामदारको कोटा बढाइएको भनेर जुन राम्रा पक्षको वर्णन गरिएको छ । यसले विश्व समुदायमा नेपाल र नेपालीको राम्रो छाप छोडेको प्रमाणित हुन्छ ।

कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । कम खर्च (८ सय १५ अमेरिकी डलर अर्थात करिब ९१ हजार नेपाली रुपैयाँ) खर्च गरेर कोरिया पुगेका नेपालीले मासिक १ लाखदेखि २ लाख सम्म कमाइरहेका छन् । कामदार र रोजगारदाताबीच भएको सम्झौताअनुसार काम र तलबको सुनिश्चित  ।  नेपालमा गरिएको करारपत्रले वैधानिकता पाउँछ । कामदारले तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था छ । ‘बासस्थान सुविधाजनक छ । सम्झौताअनुसार कामदारका अधिकारहरू स्थापित हुन्छन् । आर्थिक हिसाबले कैयौँ नेपाली युवाको भविष्य पनि समुज्वल बनेको छ । यी सबै कोरिया गन्तव्यका उज्याला पक्ष हुन् । कोरियाले नेपालीको लागि कोटा सबैभन्दा बढी निर्धारण ग¥यो भनेर खुसी भइरहँदा हामीले त्यहाँका अध्यारा पक्षका कुरालाई कहिल्यै पनि विर्सनु हुँदैन ।

अनेकौँ सपना बोकेर हजारौँ युवाहरु प्रत्येक बर्ष कोरिया पुगेका छन् । अधिकांश कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर त्यहाँ पुगेका छन् भने कतिपय अध्ययनको शिलशिलामा पनि पुगेका छन् । नेपालीहरु कोरिया जान थालेको अहिले १० बर्ष पुरा भएको छ । यो १० बर्षमा कैयौँको भविष्य बनेको पनि होला तर कतिको भविष्य अन्धकार पनि बनेको छ । कारण हो कोरियामा प्रत्येक बर्ष बढ्दै गरेको नेपालीको मृत्युको दर । गएको १० वर्षको अवधिमा एक सय ६५ जना नेपालीको मृत्यु भएको तथ्यांक छ । यो भयावह अवस्था हो । १ सय ६५ जनालाई १० ले भाग गरियो भने कोरियामा प्रत्येक वर्ष १६ जना नेपालीले मृत्युवरण गरिरहनु परेको अवस्था छ भने प्रत्येक महिना १ जनाका दरले नेपालीले ज्यान गुमाइरहेको आँकडा छ । यो कानुनी रुपमा त्यहाँ गएका नेपालीको दर्दनाक अवस्था हो । त्यहाँ कैयौ नेपाली अवैधानिक तवरले पनि बस्दै आएका छन् । नेपाली दूतावासका अनुसार झन्डै २६ सय नेपाली गैरकानुनी हैसियतमा कार्यरत छन् । तिनीहरुको मृत्युको आँकडा छैन । यस हिसावले कोरिया गन्तव्य भनेजस्तो सजिलो छैन ।

यसरी प्रत्येक बर्ष १६ जनाभन्दा बढी युवाको मृत्यु हुनु मुलुकको लागि ठुलो क्षती हो । ज्यान जाने अधिकांश युवायुवती ३० बर्षभन्दा मुनीकै रहेका छन् । यसरी नेपालीहरुको मृत्युको पछाडीको कारण के छ भन्ने कुरा पनि हामीले बुझ्नु नितान्त आवश्यक छ । कोरिया पुगेका अधिकांश नेपालीको मृत्युको कारण आत्महत्या, तनाव (फ्रस्टेसन) मौसम परिवर्तन, सवनरी तथा मेसिनरी दुर्घटना इत्यादि रहेका छन् । कोरिया पुगेपछि रुखमा पात टिपे जस्तै धन टिप्न पाइन्छ भन्ने मानसिकता बोकेका नेपालीले त्यहाँको रफ्तारमा काम गर्न नसकेर आत्महत्या गर्ने गरेको पनि पाइएको छ । नेपालमा शारीरिक परिश्रम गर्ने कामदारले जेनतेन त्यहाँ आफूलाई समायोजन गरेको देखिएको छ भने नेपालमा शारीरिक परिश्रम नगरेका तर अध्ययनको क्रममा विदेश भासिएकाहरुले काम गर्न नसकेर आत्महत्या गरिरहेका छन् । अर्को कुरा नेपालमा भन्दा त्यहाँ काम गर्ने तरिका र प्रविधि अत्याधुनिक छ । यहाँ हामीले आराम गरीगरी काम गछौँ भने त्यहाँ घण्टौँ लगातार (ननस्टप) काम गरिहनु पर्छ । त्यही पनि अत्याधुनिक मेसिनसंग जोडिएर कतिपय त्यही लगातार काम गर्न नसकी मृत्युलाई आफ्नो विकल्प मान्छन् भने कतिपय मेसिनमा परेर ज्यान गुमाउन बाध्य छन् । कोरियामा ८ महिनाभन्दा बढी चिसो नै हुन्छ । चारैतिर हिउँ जम्छ । चिसो माइनसमा झर्छ । यहाँ ३ महिना जाडो र बाँकी महिना चर्को घाममा जीवनयापन गरिरहेकाहरु हावापानीको सन्तुलन नमिलेर पनि मृत्युवरण गर्न बाध्य छन् ।

तातो रातो रगतले सलबलिएका, केही गर्ने जोशजाँगर र हिम्मतले भरिएका युवाको कोरियामा ज्यान गइरहँदा यताका जग्गाहरु खाली छन् । कैयौँ उर्वर भूमिले तिनै युवाहरुको परिश्रम र पौरख पर्खेर बसेका छन् । उनीहरुकोे विदेशी भूमिमा भकाभक ज्यान जानु भनेको राष्ट्रको वेइज्जत हुनु हो । मुलुकको लागि यो किमार्थ राम्रो होइन । कोरिया जाने सपनासंगै आएका हजारौँ सपनाहरु बुनेर फारम भर्दा हामीले त्यहाँको वास्तविकतालाई पनि नजिकबाट बुझ्न जरुरी छ ।

त्यसकारण अब नेपालीहरु जापान, कोरिया, इजरायल, फ्रान्स, गल्फ मुलुकहरुले कोटा निर्धारण गर्दा हर्षले गद्गद् नभएर देशमै केही गर्नको लागि तम्सनु पर्दछ । नेपालको कृषिभूमिलाई उत्पादनले उर्वर बनाउनु पर्दछ । यहाँको उद्योग धन्दा र विकास निर्माणमा रातदिन खटिनु पर्दछ । यसको लागि सरकाले लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नु पर्दछ । स्वदेशमा केही गरेका व्यक्तिलाई स्वदेशमै काम गर्ने अवसर राज्यले दिलाउनुपर्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ७ : ३४ बजे