७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

“न्याय नपाए गोर्खा जानु, एसएलसी पास हुन नसके कपिलवस्तु आउनु”!



मायादेवी अनलाइन, कपिलवस्तु ।
“न्याय नपाए गोर्खा जानु, एसएलसी पास हुन नसके कपिलवस्तु आउनु” यो उखान कुनै समय निकै चर्चामा थियो । जतिबेला एसएलसी परिक्षालाई एउटा आइरन गेटको रुपमा चित्रण गरिन्थ्यो । एसएलसी परिक्षा पास गर्नुलाई निकै ठूलो उपलब्धी ठानिन्थ्यो । त्यतिबेला कपिलवस्तुमा एसएलसी परिक्षा निकै खुकुलो हुने गरेको आरोप थियो । अन्यन्त्र जिल्लामा एसएलसी पास गर्न नसकेकाहरु पनि कपिलवस्तु आएर पास भएका उदाहरण प्रशस्त छन् । तर, केही बर्ष यता कपिलवस्तुमा कक्षा १० को परिक्षा मर्यादित हुन थालेको छ ।
विगत तीन बर्ष देखि तत्कालिन समयमा दिइने एसएलसी परिक्षा आजभोली एसईई परिक्षामा रुपान्तरण भएको छ । यो संगै परिक्षा पनि मर्यादित हुन थालेको हो । कपिलवस्तुमा चैत्र १० गते देखि सुरु भएको एसइई परिक्षामा कुनै त्यस्ता अमर्यादीत गतिविधि नभएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख बाबुराम भट्टराईले बताउनुभयो ।
विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीबाट निस्कने भएपछि परिक्षा पनि मर्यादित हुन थालेको भट्टराईको तर्क छ । कक्षा १० मा चिट चोरेर पास भएपनि उच्च शिक्षा हासिल गर्दा त्यहि अनुसारको पढाई हुनुपर्ने भएकोले एसईई परिक्षा मर्यादित हुन थालेको उहाँले बताउनुभयो ।
आइतबार अंग्रेजी विषयको परिक्षामा १ सय विद्यार्थी अनुपस्थित भएका थिए भने दोस्रो दिन नेपालीको दिन ९३ जना परिक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा समन्वय ईकाई कपिलवस्तुले जनाएको छ । जिल्लामा परिक्षाका लागि २९ केन्द्र तोकिएको छ भने २९ जना केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष र ३५५ जनाले निरिक्षकको रुपमा काम गरिरहेका छन् । जिल्लाको गौतम बुद्ध मावि गोरुसिंगेमा एक जना दृष्टिविहिन विद्यार्थीले परिक्षा दिईरहेका छन् । परिक्षालाई मर्यादित बनाउनका लागि परिक्षा स्थल प्रवेशद्धारामा चेकजाँचमा कडाई गरिएको छ । परिक्षामा प्रयोग हुने गेस पेपर, गाएड पेपर र चिटलाई पूर्ण बन्देश गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  १ : ४८ बजे