८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आइपिएलः राजस्थान विरुद्ध गेल चम्किए, बट्लरको विकेटमा विवाद



एजेन्सी ।
इन्डियन प्रिमियर लिगको सोमबारको एकमात्र खेलमा किंग्स एलेवन पञ्जाले राजस्थान रोयल्सलाई पराजित गरेको छ । जयपुरको सवाई मान सिंह स्टेडियममा भएको खेलमा पञ्जावले राजस्थानलाई १४ रनले पराजित गरेको हो । पञ्जावले आइपिएलमा पहिलोपटक राजस्थानलाई उसको घरमा पराजित गरेको हो ।
यसअघि यो स्टेडियममा राजस्थानबाट पञ्जावले पाँच म्याचमा हार बेहोरेको थियो । पञ्जावले पहिले ब्याटिङ गर्दै पूरै २० ओभरमा चार विकेटको क्षतिमा १८४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १७० रनमात्रै जोड्न सक्यो । पञ्जावका लागि क्रिश गेलले धमाकेदार ब्याटिङ गरेका थिए । उनले ४७ बलमा ७९ रन प्रहार गरेका थिए । गेलले आइपिएलमा सबैभन्दा कम खेलमा ४००० रन बनाउने खेलाडीको रेकर्ड पनि आजै आफ्नो नाममा लेखाएका छन ।
यो रेकर्ड यसअघि डेभिड वार्नरको नाममा थियो । गेलले ११२ खेलमा नै ४००० रन पूरा गरेका हुन । त्यस्तै, पञ्जावका लागि शर्फराज खानले नटआउट ४६ र मयंक अग्रवालले २२ रन बनाएका थिए । बलिङतर्फ राजस्थानका बेन स्टोकले दुई तथा धवल कुलकर्णी र कृष्णप्पा गोथमले एकएक विकेट लिएका थिए ।
पञ्जावले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोश बट्लरले ६९ रन बनाएका थिए । उनलाई ननक्रिजमा रहेका बेला अगाडि बढ्दा पञ्जावका कप्तान तथा बलर रवीचन्द्रन आश्वीनले स्टम्प गरिदिएका थिए । आश्वीनको यो आउट गराइलाई आलोचना गरिएको छ । उनले पहिले बट्लरलाई चेतावनी नदिइकनै आउट गरेको र थर्ड अम्पायरले पनि अम्पायरसँग सल्लाह नगरी आउट देखाएको भन्दै आलोचना भएको हो । उक्त आउटबारे राजस्थानका कप्तान अजन्क्या रहानेले भने बोल्न अस्वीकार गरेका छन । विवादीत विषय भन्दै उक्त आउटबारे उनी बोल्न नमानेका हुन ।
राजस्थानका लागि सन्जु सामसोनले ३० र कप्तान रहानेले २७ रन प्रहार गरेका थिए । बलिङतर्फ पञ्जावका साम कुर्रन, अंकित राजपूत र मुजीव उर रहमानले समान दुईदुई विकेट लिएक थिए । मंगलबारको खेलमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्सबीच खेल हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : ०६ बजे