७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

के तपाई जागिरमा बढुवा हुन चाहानुहुन्छ ? यसो गर्नुस्



मायादेवी अनलाइन ।

बोसबाट स्पष्ट अपेक्षा राख्नुहोस्
जीवनका हरेक पाइलामा उत्कृष्ट प्रदर्शन गर्न चाहनुहुन्छ भने बोसलाई खुसी बनाउनुहोस् । म्यानेजरसँग बसेर स्पष्ट लक्ष्य तय गर्नुहोस् र भन्नुहोस्, ‘म तपाईंको लक्ष्य र योजना पूरा गर्न सदैव तयार छु, त्यसका लागि मैले के गर्न सक्छु ?’ आफ्नो कामको त्रैमासिक समीक्षा होस् भन्ने चाहेको कुरा बताउनुहोस् ।

उपलब्धिको डकुमेन्टेसन गर्नुहोस्
तपाईंले गर्नुभएका सबै काम र उपलब्धीबारे बोसले ख्याल गरिरहेको नहुन सक्छ । त्यसैले त्यस्ता काम र उपलब्धीहरूको फेहरिस्त नै राख्नुहोस्, जसले तपाईंलाई प्रमोसन माग गर्न सहज हुनेछ । तपाईंले प्राप्त गर्नुभएको थप सीप, तालिम तथा क्षमता पनि आफ्नो बायोडाटामा थप्नुहोस् ।

मानव स्रोत विभागसँग नजिक बन्नुहोस्
मानवस्रोत विभागका साथी तपाईंको प्रमोसनको कडी बन्न सक्छन् । तपाईंलाई रोजगारीका बारेमा जानकारी दिने व्यक्तिलाई कहिलेकाहीँ सँगै खान लानुहोस् र त्यही मौकामा आफूले गरेका कामका बारेमा भन्नुहोस् । त्यस्ता बसाइले तपाईंलाई चाहेको विभागमा जान वा प्रमोसनका लागि सहज वातावरण बनाउन सक्नेछ ।

दिइएको दायित्वमा सीमित नरहनुहोस्
जब तपाईंले एकपटक आफूलाई ठूला काम र जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने प्रमाणित गर्नुहुनेछ, तब आफ्ना म्यानेजरलाई थप जिम्मेवारी माग गर्नुहोस् । तर, त्यस्तो विशेष काम मात्र दिन आग्रह गर्नुहोस्, जुन जिम्मेवारी र पदका लागि तपाईंले आँखा लगाइरहनुभएको छ । त्यो तपाईंका लागि आफूलाई परीक्षण र प्रमाणित गर्ने आधार बन्नेछ ।

नेतृत्वकर्ता हुन सक्ने प्रमाणित गर्नुहोस्
बोसले चाहेका वेला तपाईंले आफूलाई टिमका अन्य सदस्यभन्दा राम्रो रहेको प्रमाणित गर्नुहोस् । टिमको होइन, प्रमोसन एक व्यक्तिको हुन्छ । कोही कसैलाई नेतृत्वकर्ता नतोकिएको भए पनि आफू नै अन्तिम प्रस्तुतिका लागि छानिएको नेता रहेको ठान्नुहोस् र बोसलाई हरेक कुराको अपडेट गराउनुहोस् ।

प्रमोसनको माग गर्नुहोस्
अधिकांश कर्मचारीले प्रमोसनका लागि बोसको निगाहा आफूलाई प्राप्त होस् भन्ने चाहिरहेका हुन्छन्, तर यो सत्य हो कि तपाईंले माग नगरेसम्म हत्तपत्त प्रमोसन पाइँदैन । कुनै कारणले आफू प्रमोसनमा परिएन भने आफूले आफैँलाई एकपटक नियाल्नुहोस् र प्रश्न गर्नुहोस् म किन प्रमोसन भइनँ । र, आफ्नो बारेमा प्रतिक्रिया लिनुहोस् ता कि त्यसले अर्को प्रमोसनमा तपाईंको नाम पार्ने गरी सुधार गर्न सहयोग पुगोस् ।

प्रमोसनको विकल्प खोज्नुहोस्
तपाईं आफूले सकेसम्म राम्रो प्रदर्शन गरिरहनुभएको छ, तैपनि तपाईंको बढुवा हुन सकेको छैन र तलब पनि बढेको छैन भने विकल्प सोच्नुहोस् । कतिपय अवस्थामा प्रमोसन कुरिरहनुभन्दा नयाँ ठाउँमा रोजगारी सुरु गर्नु लाभदायक हुन सक्छ । कार्यालय परिवर्तन गर्दा तलबमा वृद्धि त छँदैछ, नयाँ जिम्मेवारी र नेतृत्व पनि आउन सक्छ । त्यसैले बोसलाई आफू योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्नुहोस् ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : ४८ बजे