कपिलवस्तु ।
चार जिल्लामा संचालित आधारभूत सिकाइका लागि ठुली दिदी (Big Sister) मोडलको परिष्कृत तथा विस्तार परियोजना सिकाइ–दुई अन्तर्गत ठुली दिदीहरूकाे क्षमता विकास तथा पुनर्ताजगी कार्यशाला लुम्बिनीमा आइतबार सम्पन्न भएको छ।
हेम्पेल फाउन्डेसन तथा भि.एस.ओ. नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा असार ५ गतेदेखि संचालित उक्त कार्यशालामा कपिलवस्तु र दाङ जिल्लाका ३४ जना ठुली दिदी, परियोजना टोली तथा संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यशालाले बालबालिकाको सिकाइ, उपलब्धि सुधार, विद्यालयमा नियमितता वृद्धि, समावेशी शिक्षा प्रवर्द्धन तथा समुदायस्तरमा शिक्षा सम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका विषयमा सहभागीहरूको क्षमता अभिवृद्धि गरेको संस्थाले जनाएको छ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता चौधरी, महाराजगञ्ज नगरपालिकाकी उपप्रमुख रीता कुर्मी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, उपाध्यक्ष होमप्रकाश चौधरी, शिवराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मा, शुद्धोधन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थी, महाराजगञ्ज नगरपालिकाका सहायक शिक्षा अधिकृत भागीराम वली, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तिलोचन घिमिरे, उपाध्यक्ष शोभा आचार्य तथा भि.एस.ओ. नेपालका कार्यक्रम व्यवस्थापक फिरोज सिद्दिकी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले ठुली दिदीहरूले समुदाय र विद्यालयमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस मोडललाई स्थानीय सरकारको शिक्षा योजना, बालअधिकार कार्यक्रम तथा वार्षिक बजेटमा समावेश गरी संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने, कमजोर सिकाइ भएका बालबालिकाको शैक्षिक उपलब्धि सुधार गर्ने तथा बालमैत्री र समावेशी शिक्षाको वातावरण निर्माणमा ठुली दिदीहरूको भूमिका प्रभावकारी रहेको बताएका थिए।
कार्यक्रमको अवसरमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव दिवाकर भण्डारी तथा युनिसेफ नेपाल, लुम्बिनी प्रदेश कार्यालय प्रमुख ऋद्धि शर्माले समुदायमा आधारित सिकाइ सुधार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकार, विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यशालामा सहभागी ठुली दिदीहरूले विद्यालय तथा समुदायमा कार्यान्वयन गरेका गतिविधि, सिकाइ अनुभव, चुनौती र सफलताका कथाहरू प्रस्तुत गरेका थिए। साथै साक्षरता, गणितीय सीप विकास, बाल संरक्षण, लैङ्गिक समानता, जीवन उपयोगी सीप, हानिकारक सामाजिक अभ्यास न्यूनीकरण तथा समावेशी शिक्षाका विषयमा सहजीकरण गरिएको कार्यक्रम संयाेजक यादव भुसालले जानकारी दिए ।
ठुली दिदीको भूमिका प्रभावकारी बन्दै
परियोजनाको पहिलो वर्षमा चार जिल्लाका १३१ विद्यालयमा ६५ जना ठुली दिदी परिचालन भई बालबालिकाको सिकाइ सुधार, विद्यालय उपस्थितिमा वृद्धि र समुदायसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएका छन्। १२ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् भने २४३ बालबालिकालाई पुनः विद्यालय भर्ना गराइएको छ। साथै, अभिभावकसँग अन्तरक्रिया, शिक्षक तालिम र विद्यालय व्यवस्थापन क्षमतामा समेत सुधार गरिएको छ।

ठुली दिदीहरूले विद्यालय, समुदाय र स्थानीय सरकारबीच समन्वय गर्दै कमजोर बालबालिकाको पहिचान, अभिभावकसँग सहकार्य, सामाजिक सचेतना र शिक्षा सुधारमा काम गरिरहेका छन्। परियोजनाले ४६२ विद्यालयमार्फत १ लाख १५ हजार बालबालिकाको सिकाइ सुधार गर्ने लक्ष्य लिएको छ र यस मोडललाई दीगो तथा राष्ट्रिय स्तरको उत्कृष्ट अभ्यास बनाउने उद्देश्य राखिएको छ।
दोस्रो वर्ष १६७ विद्यालयमा विस्तार हुदै
दोस्रो वर्षमा परियोजना थप १६७ विद्यालयमा विस्तार गरिनेछ र ३० जना नयाँ ठुली दिदी थपिनेछन्। कपिलवस्तु, दाङ, बाँके र बर्दियाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन भई अझ बढी बालबालिकामा सिकाइ सुधार र पहुँच विस्तार गरिने लक्ष्य राखिएको छ।














प्रतिक्रिया