३ असार २०८३, बुधबार | Wed Jun 17 2026

सिकाई २, ठुली दिदी मोडेल परियोजनाको परिचयात्मक कार्यक्रम



दाङ । दाङको राप्ती गाउँपालिकामा ‘सिकाइ–२ ठुली दिदी (बिग सिस्टर) मोडेलको परिष्कृत तथा विस्तार परियोजना’ अन्तर्गत पालिका स्तरीय परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग, भीएसओ नेपालको कार्यान्वयन नेतृत्व तथा सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुको स्थानीय साझेदारीमा सञ्चालित उक्त परियोजना लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका २० स्थानीय तहमा ४२ महिनासम्म सञ्चालन हुने जनाइएको छ।

परियोजनाले सामाजिक तथा सांस्कृतिक अवरोध न्यूनीकरण, सुशासन प्रवर्द्धन तथा ‘ठुली दिदी मोडेल’लाई शिक्षा प्रणालीमा संस्थागत गर्दै विद्यालय उमेर समूह (५ देखि १४ वर्ष) का बालबालिकाको साक्षरता र गणितीय सीप विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। यसका लागि मेन्टरिङ, सुधारात्मक सिकाइ तथा समुदायको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइनेछ।

परियोजना अन्तर्गत ४ सय ६२ विद्यालय मार्फत ४ हजार ६२० शिक्षक, ८० हजार अभिभावक तथा हेरचाहकर्ता र ६ हजार ६ जना विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरूको क्षमता विकास गरिने लक्ष्य राखिएको छ। साथै, ९५ जना ‘ठुली दिदी’ मार्फत मेन्टरिङ सेवा सञ्चालन गर्दै करिब १ लाख १५ हजार विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने परियोजना पक्षले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विद्यालय शिक्षाको गुणस्तर सुधार, समावेशी तथा लैङ्गिक उत्तरदायी शिक्षण–सिकाइ प्रवर्द्धनका लागि परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय, सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष रिम बहादुर सुनारी मगर, कार्यपालिका सदस्यहरु तथा परियोजनाको दोस्रो वर्षका लागि छनोट भएका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

परियोजना संयोजक यादव भुसाल, परियोजना विशेषज्ञ राजभक्त डंगोल, जिल्ला शिक्षा अधिकारी देव उपाध्याय तथा सिकाइ सल्लाहकार स्वयंसेवक सीता चौधरी लगाएतले परियोजनाको उद्देश्य, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभएको थियो।

प्रकाशित मिति : ३ असार २०८३ बुधबार ००:००  १० : १३ बजे