१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फिरोज गोलीकाण्डः घटनाबारे यसो भन्छ रुपन्देही प्रहरी



मायादेवी अनलाइन, वाणगंगा ।
रुपन्देहीका प्रहरी उपरिक्षक एसपी हृदय थापाले बुटवलको मैनाबगरमा बुधबार साँझ गोली प्रहार गरी भारतीय नागरिकको हत्या गर्नेलाई छिट्टै पत्ता लगाइने बताउनु भएको छ ।
विहीबार विहान रेडियो मायादेवीको कार्यक्रम समय संवादसंग कुराकानी गर्दै एसपी थापाले घटनाका केही प्रमाण जुटिसकेकाले दोषी छिट्टै कारबाहीको दायरामा आउने बताउनु भएको हो ।
बुधबार राति ८ बजे घटना घटेपछि रातभर प्रहरीको अनुसन्धान टोली खटिराखेको हुनाले छिट्टै दोषी पत्ता लाग्ने उहाँको दाबी छ । बुधबार मैना बगरमा गोली प्रहार गरी फिरोज खानको हत्या गरेपछि अज्ञात समूह फरार छ । गोली लागेर भारतीय नागरिक फिरोज खानको हत्या भएको थियो । अहिले उनको शवलाई लुम्बिनी अंचल अस्पतालमा राखिएको छ । उहाँले भन्नुभयो–“गोली चल्यो, के विषयमा चल्यो ? अनुसन्धान र छानबीन भइरहेको छ । घटनाको पर्दाफास भएरै छोड्छौ । तत्कालको लागि केही लिडहरु फेला परेको छ ।”
एसपी थापाले रुपन्देहीमा शान्ति स्थापना गर्न आफूहरु लागि परेकाले भोलिका दिनमा यस्ता घटना नियन्त्रण भएरै छाड्ने बताउनु भयो । पछिल्लो केही बर्ष रुपन्देहीमा अपराध र हत्याका घटनाहरु पुनरावृत्ती भइरहँदा स्थानीय र व्यावसायी त्रसित छन् । एसपी थापाले एक आध हुने घटनाले जनतालाई त्रसित नहुन आग्रह गर्दै आफूहरुले पूर्णतया जनतालाई शान्तिसुरक्षा प्रदान गर्ने दाबी गर्नुभयो । रुपन्देही प्रहरी यस्ता अपराधका घटनामा निकै संवेदनशिल रहेकाले प्रहरीले थप रणनीति बनाएर अघि बढ्ने थापाले बताउनु भयो ।

२०७३ कात्तिकदेखि ०७५ चैत्र सम्ममा ५ जनाको हत्या भइसकेको छ । अपराध र चन्दा आतंक मच्याउने समूहका नाइके भन्दै २ जनाको प्रहरीले इन्काउन्टर गरेको छ । तथ्यांकअनुसार २०७३ कात्तिकमा देवदह २ ढेकावारमा २४ वर्षकी सुत्केरी नमकला पाण्डेको हत्या भयो । २०७३ पुस ४ मा तत्कालीन नेकपा एमालेनिकट युवा संघका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भयो ।

२०७४ पुस २१ गते युवा संघकै क्षेत्रीय सदस्य फर्निचर व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्या भयो । केही दिनअघि देवदहमा एक युवकको चिर्पट प्रहार गरी हत्या भएको थियो । यसले रुपन्देहीको शान्ति सुरक्षामा प्रश्न खडा भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  २ : ३१ बजे