८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

परीक्षा सुरु हुनुअघि नै फेसबुकमा प्रश्नपत्र पोस्ट भएपछि प्रदेश दुईमा विज्ञानको परीक्षा रद्द



सिरहा ।
परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको अनिवार्य विज्ञान विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ । सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । बिहीबार बसेको बोर्डको बैठकले नियमित सञ्चालन भएको विज्ञान विषयको परीक्षा रद्द गरेर चैत २२ गते फेरि लिने निर्णय गरेको हो ।

छानबिन समिति गठन

चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिनुभयो ।

समितिको सदस्यमा प्रदेश २ अन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्मा, शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली र बोर्डकै शाखा अधिकृत रमेश अधिकारी रहनु भएको छ । समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन पेश गर्नेछ ।

सप्तरीमा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बुधबार राती नै बाहिरिएपछि बिहीबार हुने विज्ञान विषयको परीक्षा चैत २२ गतेका लागि सारिएको छ । अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक फरक बनाइएकाले प्रदेश २ मा मात्रै बिहीबारका लागि तय गरिएको परीक्षा चैत २२ गते सारिएको हो । अरु प्रदेशमा भने परीक्षा तालिका अनुसार नै परीक्षा सञ्चालन हुने पनि परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

सुरक्षा समितिको बैठक बस्दै

यसैबीच प्रश्नपत्र बाहिरिएपछि चुनौतिपूर्ण बनेको एसईई परीक्षा थप व्यवस्थित गर्न केन्द्रिय सुरक्षा समितिको बैठक बस्दैछ । बैठक बेलुकी ५ बजे सिंहदरबारमा बस्नेछ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा बस्ने बैठकमा एसईईका बाँकी रहेका विषयको परीक्षा मर्यादित बनाउन छलफल हुनेछ ।

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै संलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

त्यस्तै सिरहामा परीक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई अनुगमन समितिले परीक्षा केन्द्रबाट निष्कासन गरेको छ । निष्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ ।

परीक्षा अनुगमन समितिले लहान नगरपालिकाको ब्रम्हान गोर्छारी परीक्षा केन्द्रबाट पाँच जना र पशुपति आदर्श मा।वि। परीक्षा केन्द्र लहानबाट ५ जना परीक्षार्थी निष्कासन गरिएको शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेयले जानकारी दिनुभयो ।

यो परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको केही मिनेटपछि नै प्रश्नपत्र इमोको माध्यमबाट बाहिरिएको जनाइएको छ । ब्रम्हान गोर्छारी परीक्षा केन्द्रभित्रै मोबाइल लगेका ३ जना र चिट चोरेको आरोपमा २ जना परीक्षार्थीलाई निष्कासन गरेको पाण्डेले बताउनुभयो ।

पशुपति मा।वि। परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादिन गतिविधिको आरोपमा ५ जना विद्यार्थी निष्कासन भएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ८ : ३१ बजे