१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विप्लवले अराजनीतिक गतिविधि त्याग्नुपर्छः मुख्यमन्त्री पोख्रेल



दाङ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताउनुभयो ।
“२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल निर्माण गर्ने, निरङ्कुश राजतन्त्र फाल्न हतियार उठाएको थियो,” उहाँले भन्नुभयो ।
यी क्रान्तिले नै मुलुकले लामो सङ्घर्ष नेपालको संविधान पाएको र मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले चन्द नेतृत्वको समूहले त्यही संविधानका विरुद्ध अराजनीतिक गतिविधि गरिरहेको तर, यस्ता गतिविधिलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने बताउनुभयो । विगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पूरा गरिसकेकाले अहिले उक्त समूहको आन्दोलनको औचित्य नभएको उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले अहिले तीनै तहको सरकार नेकपाको भएकाले यतिबेला भएका विकास निर्माणका कामहरुलाई जनताको माझमा लगेर प्रचार गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका ९९ नगर कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो । यसअघि अध्यक्ष र सचिवलाई शपथग्रहण गराइसकिएको छ । योसँगै १०१ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी निर्माण भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  २ : ५२ बजे