१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोकभजन संरक्षणमा जुटे रामपुरवासी



बेझाड (पाल्पा) ।
हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ । यसको पौराणिक महत्वलाई जोगाइराख्न पाल्पा रामपुरका स्थानीयवासी लोकभजन संरक्षणमा जुटेका छन् । रामपुर नगरपालिका क्षेत्रमा छरिएर रहेका लोकभजनका कलाकार र रामपुरवासी एकजुट भएर यसको संरक्षणमा लागेका हुन् ।

रामपुर भजनकीर्तन मण्डली संस्था गठन गरेर संस्थागतरूपमै रामपुरवासीले लोकभजनलाई संरक्षण गर्नतर्फ अग्रसर भएका छन् । चार वर्षअगाडि संस्था गठन गरेर अहिले निरन्तररूपमा हिन्दू समुदायको मौलिक कलासंस्कृति लोकभजनको महत्व टिकाइराख्न संस्थागतरूपमा संरक्षणमा लागेको रामपुर भजनकीर्तनमण्डली समूहका अध्यक्ष टीकाराम ढकालले बताउनुभयो ।

हिन्दू समुदायभित्र पनि विशेषगरी ब्राह्मण समुदायमा लोकभजनकीर्तन बढी प्रचलित छ । पौराणिक समयदेखि नै हिन्दू समुदायका मानिसले लोकभजनलाई सर्वप्रिय मान्दै आएका छन् । कालीगण्डकी बेँसीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिलाई उजागर, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन संस्कृतिलाई अवलम्बन गराउन संस्थागतरूपमा जुुुुुुुुुुुटेको सल्लाहकार लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

विभिन्न मठमन्दिर, देवालयमा दैनिक भजनकीर्तन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थल लगायतका ठाउँठाउँमा अखण्डरूपमा दैनिक भगवान्कै नाम जप्दै भजनकीर्तन गाउने र नाच्ने गरिन्छ । यसरी भगवान्को नाम जप्दै भजनको तालमा नाच्ने र गाउने गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो भजनकीर्तन गर्ने चलन परम्परादेखि चलिआएको हो । (रासस)

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ३ : ४० बजे