१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कालोमोसोको विरोधमा चितवनका क्याम्पसमा प्राध्यापकले गरे कलम बन्द



चितवन ।
प्रजातन्त्रवादी प्रध्यापक संघ नेपाल जिल्ला समिति चितवनले बुधबार जिल्लामा रहेका सम्पूर्ण क्याम्पसहरुमा पेन डाउन गरेका छन्। केही दिनअघि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कृषि संकायका प्रशासनिक सहायक डिन प्रा। विष्णुराज ओझालाई विद्यार्थीले गरेको अभद्र व्यवहारको विरोधमा कलम बन्द गरेका हुन्। सो घट्ना प्रति खेद व्यक्त गदै आन्दोलन स्वरुप एक दिनका लागि कलम वन्द गरीएको जिल्ला संयोजक दयाराम पौडेलले बताए। स्नातक भन्दामाथि पढाइ हुने जिल्लाका दर्जन बढी क्याम्पसमा पेन डाउन गरिएको संघले जनाएको छ। सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस, सहिद स्मृति क्याम्पस टाँडी, सहित स्मारक कलेज सारदानगर, मैयादेवि कन्या कलेज, भुवनी संकर क्याम्पस टाँडी, माडी क्याम्पस लगायत विभिन्न क्याम्पसमा एकदिन कक्षा नलिएको संयोजक पौडेलले बताए। विद्यार्थीले ओझालाई विभिन्न आरोप लगाई केहि दिन अघि कोलोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका थिए। प्राध्यापक संघले दुर्व्यवहारमा संलग्न विद्यार्थीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घट्नामा संलग्नको नाम किट्टानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको भन्दै थप आन्दोलनमा जानुपरेको पौडेलको भनाइ छ। यथाशीघ्र दोषीलाई कारबाही गरी विश्वविद्यालयको पठनपाठन सुचारु गराउन सम्बन्धित सरोकार पक्षलाई उनले आग्रह गरेका छन्। प्राध्यापकमाथिको दुर्व्यवहारलाई लिएर प्राध्यापक संघ र नेविसंघले गएको २१ गतेदेखि विश्वविद्यालय बन्द आह्‍वान गर्दा पठनपाठन प्रभावित भएको छ। संघको आन्दोलनलाई नेपाली कांग्रेस चितवनले पनि ऐक्यबद्धता जनाएको छ। यसैबीच उता जिल्ला प्रहरी कार्यालय चितवनले दुव्र्यवहारमा संलग्नको खोजी भईरहेको जनाएको छ। प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले किटानी परेकाहरु फरार रहेकाले खोजी भइरहेको बताएका छन्। प्राध्यापक ओझाले ३० दिनको कोर्ष ४ दिनमा सकाएर झाराटार्ने गरी पढाएको, विद्यार्थीलाई विभिन्न वहानामा दुख दिनेगरेको तथा उनका अराजक गतिविधिप्रति आवज उठाउने विद्यार्थीको अंक काटिदिएको तथा सुध्रन पटकपटक ध्यानाकर्षण गराउदा पनि अटेर गरेको भन्दै कालोमोसो दलेका थिए।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  ८ : ५० बजे