९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एपिएफ र आर्मीको महाभिडन्त आज, साम्वा र राई मध्ये कस्को जादु चल्ला ?



मायादेवी अनलाइन, वाणगंगा ।
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार अपराह्न हुने दोस्रो खेल आम दर्शकका लागि रोचक हुने भएको छ । जारी प्रतियोगीतामा सुरुका खेलहरुबाट नै फराकिलो जित सहित सनसनी मच्चाएका दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब बीचको भिडन्तले खेल रोचक हुने भएको हो ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफको प्रमुख प्रतिद्धन्दीको रुपमा आर्मी रहेको छ भने आर्मीले पनि एपिएफलाई हराएर खेलको उपाधि आफ्नो पोल्टामा पार्ने बाटो सहस बनाउने छ । शनिबार (आज) को खेलको विजेताले समुह विजेताको टुंगो लगाउने छ ।
एपिएफले कर्णाली विरुद्धको खेलमा २३ शुन्यको जित दर्ता गरेको थियो भने गण्डकी प्रदेश विरुद्ध ११ र प्रदेश नं. १ विरुद्ध ६ गोल गरेर आफुलाई उपाधि दाबेदार टोलीका रुपमा प्रस्तुत गरिसकेको छ ।


यता आर्मीले पनि गण्डकी विरुद्ध ११–०, प्रदेश नं. १ विरुद्ध ८ गोलको जित निकाली आफुलाई सशक्त टोलीको रुपमा उभ्याएको छ । आर्मीले कर्णाली प्रदेश विरुद्ध भने खेल खेल्न बाँकी छ ।
आजको खेलको प्रमुख आर्कषणका रुपमा एपिएफकी सावित्रा भण्डारी (साम्वा) रहने छिन् । खेलमा डबल ह्याट्रिक सहित दर्जन बढी गोल गरेकी सावित्राको आजको प्रर्दशन कस्तो हुने हो दर्शकले अपेक्षा गरेका छन् । यस्तै जर्सी नं. १४ की अनिता केसी, जर्सी नं. ११ की अनिता बस्नेत, जर्सी नं. १० की अनु लामाको पनि खेल हेर्न लायक हुने भएपनि कडा रक्षापङ्ती भएको आर्मीलाई छिचोलेर छाली चुमाउन भने त्यति सहज हुने छैन् ।


यता आर्मीका जर्सी नं. ९ की शर्मिला थापा, जर्सी नं. २३ की इन्दिरा राईको प्रर्दशनलाई पनि दर्शकले हेर्न लायक हुने अपेक्षा गरेका छन् । राई र थापाले यस अघि गण्डकी विरुद्धको खेलमा ह्याट्रिक गरेको हुनाले आजको खेलमा कस्तो प्रर्दशन गर्ने हुन प्रतिक्षाको विषय छ ।
महिला फुटवल अन्तर्रगत दाङमा अर्को चरणको खेल भैरहेको छ । दाङमा भएको खेलको विजेता र उपविजेता अनि कपिलवस्तुमा भएको खेलको विजेता र उपविजेता सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ५ : ०७ बजे