२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

फेरिएन संसारले चिन्ने तिलौराकोट, यहाँको दुरावस्थाले आशुँ झर्छ ! (भिडियो सहित)



दिपक अनुरागी, तौलिहवा ।
बुद्धले २९ बर्ष विताएको भूमि हो तिलौराकोट । कपिलवस्तु सदरमुकाम आसपासमा अवस्थित तिलौराकोट बुद्ध धर्मावालम्बिको पवित्र आस्थाको केन्द्र हो । महामानव गौतमबुद्धले २९ बर्ष विताएको यो भूमिको विकास भने सोचे जस्तो हुन सकेको छैन् । तिलौराकोट प्रस्थान गर्ने बाटो विगत दुई बर्ष देखि अन्यन्तै जिर्ण छ । एक लेनकोे बाटो पनि अहिले भत्किएर हिड्नै नसकिने अवस्थामा छ । यहाँ घुम्न आउने पर्यटकका लागि खानेपानीको सुविधा छैन् । पानी खानुप¥यो भने पैसा खर्च गरेर किन्नु पर्ने बाध्यता छ । न त यहाँ व्यवस्थित पार्किङ नै छ । दुई ठूला ठूला गाडी बाहेक अरु गाडी राख्ने ठाउँ छैन् । एउटै समयमा धेरै सवारी साधन आएभने व्यवस्थापन गर्न हम्मे हम्मे पर्छ । यति मात्रै होइन् तिलौराकोट वरपरको वातावरण सफा छैन् । तिलौराकोट आसपासमा साना साना घरका बुकँुरा छन् । घर अगाडि गाईबस्तु बाध्ने गरिन्छ । जसले यहाँको परिवेश कुनै विकट गाउँको जस्तो अनूभुति हुन्छ ।
न त यहाँ राम्रो सार्वजनिक शौचालय छ । नवलपरासीको दाउन्नेबाट तिलौराकोट घुम्न आएका दिपेन्द्र सुवेदीलाई शौच गर्न आपत आईप¥यो । शौचालय नहुँदा अरुको आखाँ छलेर तिलौराकोट भित्रै शौच गर्न बाध्य भए । उनी भन्छन्, “एउटा शौचालय सम्म नभएको ठाउँमा अब घुम्न आउँदिन ।” अझ उनी थप्छन्, “तिलौराकोटको महत्वबारे जति बुझेको थिए यहाँ आएर विजोग पो देखे ।”
तिलौराकोट घुम्न आउने पर्यटकलाई कुनै शुल्क लाग्दैन् । यहाँ जस्तो व्यक्ति पनि खुलेयाम घुम्न पाउँछ कुनै छेकबार छैन् । जसले राजश्वमा प्रत्यक्ष घाटा पुगेको छ । यहाँ घुम्न आउँनेहरु संग सामान्य रकम उठाएर यहीकै विकासमा खर्च गर्नुपर्छ भन्ने सोच कसैको छैन् । यहाँको विकास रकम अभावले गर्दा नभएको हो भन्न नभुल्ने सम्बन्धित निकाय आफ्नै अगाडीकोे राजश्व गुमाएको छ वाणगंगाका अशिम क्षेत्रीले भने । सामान्य सिफारिस लिदा पनि करको बोझ थप्न उद्धत स्थानीय सरकार पनि यस विषयमा मौन छ । कपिलवस्तु नगरपालिका भित्र पर्ने तिलौराकोटमा नगरपालिकाको संलग्नता शुन्य प्राय छ । नगरले यहाँ घुम्न आउने पर्यटकका लागि कुनै व्यवस्था मिलाएको छैन । जब की नगरपालिकाको कार्यालय र तिलौराकोट झण्डै ४÷५ किलोमिटर आसपासमा छ ।
तिलौराकोटको दुरावस्था देखेर यहाँ घुम्न आउने अधिकांश पर्यटक सरकारको राम्रै व्यग्य गर्छन । माल पाएर पनि चाल नपाएको भन्दै पर्यटकको सरकारको आलोचना गर्ने गरेका हुन । अर्घाखाँचीबाट यहाँ घुम्न आएका अशोक बेल्वासेले तिलौराकोटको नाम तत्काल फेर्न आग्रह गरे । ‘यहाँको अवस्था हेरेर आक्रोसित बनेको रेग्मी यसलाई ठाउँलाई इँटौराकोट राख्दा कसो होला भन्दै प्रश्न गरे ।’ ‘तिलौराकोटमा इँटा मात्र छ यहाँ भन्दा अरु केही छैन् बरु छ त विजोग मात्र उनले भने, “त्यसैले यहाँको नाम तिलौराकोट होइन इँटौराकोट राख्दा उचित होला ।”
तिलौराकोट देशकै गौरबको भूमि भएपनि स्थानीय देखि केन्द्र सरकार सम्मको हेलामा परेको प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ता बताउँछन् । यहाँको विकासको लागि सदनमा थुप्रै कुरा उठाए पनि कुनै सुनुवाई नभएको गुप्ताको गुनासो छ । पूर्वमन्त्री समेत रहेका गुुप्ताले अहिलेको सरकारले केही गर्छ कि भन्ने आशा रहेको बताए । “नेकपाको एकल बहुमतको सरकार छ आझा गरौं अब केही विकास हुन्छ कि उनले भने ।”
तिलौराकोटको रेखदेख लुम्बिनी विकास कोषले गर्दै आएको छ । कोषले यहाँ सामान्य सम्पर्क कार्यालय मात्र खोलेको छ । त्यही पनि गतबर्ष पिलर विनाको भवन बनाएको भन्दै कोषको तीव्र आलोचना भएको थियो । यहाँको विकासमा सम्पूर्ण जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले यहाँको विकासमा कुनै भूमिका नखेको जिल्लाबासीको आरोप छ । लुम्बिनी विकास कोषकै कारण यस ठाउँको विकास नभएको प्रदेश सांसद विष्णु पन्थी बताउँछन । केन्द्र सरकारले छुट्याएको विकास जति लुम्बिनीमा खन्याउँदा यस ठाउँकोे विकास ओझेलमा परेको हो पन्थी भन्छन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउन भन्दै सन २०१३ देखि उत्खनन हुँदै आएको छ । हाल सम्म उत्खननबाट विभिन्न प्रमाणहरु भेला परिसकेको सरोकारवालाको दाबी छ । भारतले नजिकै नक्कली कपिलवस्तु निर्माण गरेर विश्वभर भ्रम छरिरहेको छ । यस्तो बेला तिलौराकोटमा पटक पटक हुँदै आएको उत्खननले त्यो भ्रमलाई चिर्छ कि भन्ने आशामा जिल्लाबासी छन् । तर, पटक पटक उत्खनन हुँदै आएपनि विश्व सम्पदा सुचिमा सुचिकृत हुँन नसक्दा एकातिर जिल्लाबासीमा निरासा छाएको छ । पटक पटक तिलौराकोट उत्खखन मात्र भएको तर, खासै यसले प्रभाव नपारेको तौलिहवाका सन्दीप गुप्ता बताउँछन् ।
भारतले आफ्नो भूमिमा बनाएको नक्कली कपिलवस्तु अहिले विदेशी पर्यटकको रोजाईको स्थल बनेको बताइन्छ । यहाँको तिलौराकोट साच्चिकै हो कि होइन् भनेर विदेशी पर्यटक कन्फियुज हुने गर्छन्, टुरिष्ट गाईड राजकुमार यादव भन्छन् । तिलौराकोट घुमन आउने अधिकांश पर्यटक भारत हँुदै आउने गर्छन् । भारतबाट आउने पर्यटकलाई भारतले आफ्ना विभिन्न क्षेत्र घुमाउँदै यहाँ मात्र ल्याउने गर्छ । त्यति बेलै विदेशी पर्यटकले भारतमा निर्मित नक्कली कपिलवस्तु देख्छन्, टुरिष्ट गाईड यादव अगाडी थप्छन्, “त्यहाँ देखेको तिलौराकोट र यहाँ भएको तिलौराकोटको अवस्थाले पर्यटक विश्वास मान्दैनन ।” रियल तिलौराकोट यही हो भन्दा पनि पर्यटकले नाक घुम्चाउन थालेको उनको अनुभव छ ।
संसारका बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको तिलौराकोटमा आउने अधिकांश पर्यटक यहाँको दुरावस्था देख्दा रुने गरेको टुरिष्ट गाईड यादवको अनुभव छ । लामो समय टुरिष्ट गाईडको रुपमा काम गरेका यादवले तिलौराकोट आउँने अधिकांश पर्यटकले यस भूमिको दुरावस्था हेर्दा बररर आशुँ खसाल्ने गरेको बताए । विदेशबाट के के नै होला भनेर यहाँ घुम्न आएकाहरु यहाँको अवस्था देख्दा छागाँबाट खसे झै हुने गरेको उनले सुनाए ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  ८ : १५ बजे