२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नुरखोला मुहानमा कोलिफर्म भेटिएपछि प्रयोगमा रोक



गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोटस्थित नुरखोला मुहानको पानीमा कोलिफर्म भेटिएपछि उक्त मुहानको पानी प्रयोगमा रोक लगाइएको छ।
एक साताअघि उक्त गाउँका दुई सय जनालाई झाडापखाला भएपछि परीक्षण गर्दै जाँदा खानेपानीमा कोलिफर्म भेटिएको थियो।
पाँच नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाले नुरखोला मुहानको पानी प्रयोग गर्ने दुई हजार जना झाडापखालाको जोखिममा रहेको भन्दै उक्त मुहानको खानेपानी प्रयोगमा रोक लगाएको हो।
महाशाखाले विज्ञप्ति जारी गर्दै दजाकोटका सर्वसाधारणले प्रयोग गर्ने नुरखोला मुहानको पानीमा कोलिर्फमको मात्रा अत्यधिक भेटिएको जनाएको छ।
झाडापखाला लागेका बिरामीको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको मन्त्रालयले जनाएको छ ।
खानेपानीका कारण झाडापखला फैलिएपछि पानी शुद्धीकरणका लागि क्लोरिन चक्की वितरण गर्नुको साथै खानेपानीको वैकल्पिक स्रोत प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ। झाडापखालाबाट दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ। अहिले भने झाडापखाला नियन्त्रणमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
एकैपटक गाउँभरी झाडापखाला फैलिएपछि महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावित स्थलमा परिचालन गरेको थियो।
यस्तै, दाङको राजपुर ४ मा फैलिएको दादुरा पनि नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको छ। त्यहाँका अधिकांश बालबालिकाले दादुराविरूद्धको खोप नलगाएको कारण दादुरा फैलिएको मन्त्रालयले जनाएको छ।
चैत २५ गते एक बालिकामा देखिएको दादुरा ९ देखि १४ वर्ष उमेरका ३७ जना बालबालिकामा फैलिएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ५ : ५७ बजे