८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मुस्लिम समुदायको पवित्र महिना रमजान सुरु, एक महिना निराहार रोजा बसिने



काठमाडौं ।
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए।
यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए। रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो। रमदान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ।
दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य नभएको मोहम्मदले जानकारी दिए।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  ९ : ०७ बजे