९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

जुर्मुराए कालीगण्डकी क्षेत्रका स्थानीय, भन्छन्, तिनाऊमा पानी खसाल्न दिन्नौँ



पाल्पा ।
राम्दीबाट कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् ।
कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् ।
तल्लो तटीय क्षेत्र अन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीय तहले नदीको पानीलाई थुनेर अन्यत्र लैजाने प्रयासलाई रोक्न त्यस क्षेत्रका स्थानीय तहले एकताबद्ध भएर अगाडि बढ्ने अभियानमा जुट्न थालेका छन् । यसका लागि हस्ताक्षर सङ्कलन अभियान अगाडि बढाएको छ ।
अभियानअन्तर्गत हस्ताक्षर सङ्कलन गरी सम्बन्धित निकायलाई बुझाउने, कालीगण्डकी उपत्यकाका सरोकारवाला मिलेर कार्यदल गठन गर्ने, जेठ १५ गतेभन्दा अघि प्रभावित क्षेत्रका स्थानीय तहहरुको गाउँ तथा नगरसभाबाट कालीगण्डकी डाईभर्सन रोक्न माग पत्र प्रदेश र सङ्घमा पठाउने योजना अगाडि सारिएको छ ।
कालीगण्डकीको धार्मिक तथा प्राकृतिक सभ्यताको संरक्षण गर्न कालीगण्डकी बेसीका तल्लो क्षेत्रका स्थानीय सरकार एकजुट भएर लागेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
पाल्पा र स्याङ्जाको सिमानास्थित राम्दीमा ड्राइभर्सन गरेर कालीगण्डकीको पानी तिनाऊ नदीमा पोखिने योजनाप्रति कालीगण्डकी उपत्यकाका स्थानीयवासी सन्तुष्ट छैनन् ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न भू–भाग सिँचाइ गर्ने योजनाअनुरुप नदीलाई राम्दीबाट ड्राइभर्सन गरेर तिनाऊ खोलामा लैजाने कुरामा असन्तुष्टि जनाउँदै सम्बन्धित स्थानीय सरकारले यसका विरोधमा उत्रिएका हुन् । नदीको धार्मिक, सांस्कृतिक अस्तित्व मेटिन गई प्राकृतिक, जैविक तथा वातावरणीय क्षेत्रमा ठूलो असर पार्ने हुँदा पनि आफ्नै बहावमा बहेको पानीलाई निरन्तर बग्न दिन स्थानीय सरकारले चासो देखाउँदै डाईभर्सनका विरुद्धमा लागेका छन् ।
कालीगण्डकी उपत्यकाको समृद्धिका लागि यसभन्दा अघि बसेको बृहत् भेलाले कालीगण्डकी बचाऊ सम्बन्धमा घोषणापत्र पनि जारी गरिसकेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  १० : ३२ बजे