२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई, सलाहा बने नायक



एजेन्सी ।
युरोपा च्याम्पियन्स लिगको उपाधि लिभरपुलले हात पारेको छ । गयराति स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा भएको उपाधि भिडन्तमा लिभरपुलले टोटनह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । गत बर्ष फाइनलमा प्रवेश गरे पनि उपविजेतामा सिमिति भएको लिभरपुलले भने यस बर्ष उत्कृष्ट खेल पस्कदै उपाधि आफ्नो पक्षमा पारेरै छोड्यो । लिभरपुललाई उपाधि जिताउन मोहम्मद सलाहाले १ गोल गर्न सफल भए । खेल सुरु भएको दोश्रो मिनेटबाटै उनले टिमको लागि अग्रता बनाए । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टी पायो । टोटनह्यामका मोएसा सिसोकोको ह्याण्ड बलका कारण लिभरपुलले पेनाल्टी पाएको हो । त्यसलाई सदुपयोग गर्दै सालहले गोल गरे र लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

खेलमा टोटनह्यामले गोल गर्ने राम्रा मौका बनाएको थियो र त्यसका लागि प्रयास पनि । तर लिभरपुलका गोलरक्षक एलिसनले ती प्रयासहरु विफल पारे । टोटनह्यामका सन हेङ–मिन, लुकास मौरा र क्रिष्टियन एरिक्सनको प्रहारमा एलिसन बाधक बने ।

सुरुमै पछि परेको टोटनह्यामले खेलको अन्तिम समयतिर अर्को गोल खायो । थप खेलाडीका रुपमा आएका ओरिजीले ८७ औँ मिनेटमा गोल गरे र टिमलाई २–० को जितसहित उपाधि दिलाउने पक्का गरे । क्लोप्पले लिभरपुलको प्रशिक्षकको रुपमा पहिलो उपाधि जिते र त्यो पनि च्याम्पियन्स लिगको । ह्युगो लोरिसको पासमा ओरिजीले गोल गरेका हुन् ।

टोटनह्यामका प्रशिक्षक पोकेटिनोले खेलमा गएको अप्रिलदेखि चोटका कारण मैदान बाहिर रहेका स्ट्राइकर ह्यारी केनलाई थप खेलाडीका रुपमा मैदान छिराए । सेमिफाइनलका हिरो लुकासलाई निकालेर ह्यारीलाई पठाए पनि त्यसको प्रभाव देखिएन ।पछिल्लो ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फाइनलमा दुवै इंग्लिस क्लब पुगेका हुन् । यसअघि सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टीमा हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ६ : १६ बजे