८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द



बागलुङ ।
मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।

‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ’, कार्यालय प्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ।’ जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने ९ग्रेड सुधार०, कालोपत्र थप लगायत मर्मतको काम भइरहेको छ। तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो। २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ। गत असोजमा नौं करोड रुपैयाँमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु गरेको थियो।

हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो। असार भित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए। धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ।

पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्। मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ। रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  १२ : ४३ बजे