दीपा महत, बाणगंगा ।
कपिलवस्तुमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामै २६ जनाले आत्महत्या गरेका छन् । भदौ महिनामा मात्रै १७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १० जना पुरुष र ७ जना महिला छन् । साउनमा ९ जनाले आत्महत्या गरेका थिए ।
प्रहरीका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कपिलवस्तुमा ४ सय १७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १ सय २५, २०८१/०८२ मा १ सय २३ र २०८२/०८३ मा १ सय ६९ जनाले आत्महत्या गरेका हुन् ।
तीन वर्षको तथ्यांक हेर्दा आत्महत्याको संख्या पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ जनाले बढी आत्महत्या गरेका छन् ।
युवावर्ग सबैभन्दा बढी जोखिममा
प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेहरूमध्ये सबैभन्दा ठूलो संख्या १६ देखि २५ वर्ष उमेर समूहको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा यो उमेर समूहका ५३ जना, २०८१/०८२ मा ४८ जना र २०८२/०८३ मा ६३ जनाले आत्महत्या गरेका छन् । तीन वर्षमा मात्रै १६ देखि २५ वर्ष उमेर समूहका १ सय ६४ जनाले आत्महत्या गरेका छन्, जुन कुल संख्याको करिब ३९ प्रतिशत हो । जीवनको सुरुवाती र सम्भावनायुक्त चरणमै ठूलो संख्यामा युवाले जीवन गुमाइरहनुले परिवार मात्र नभई समाज र राज्यका लागि समेत गम्भीर प्रश्न खडा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बेरोजगारी, तनाव, पारिवारिक कलह, आपसी समझदारीको कमी, प्रेम तथा सम्बन्धमा आउने समस्या र सामाजिक सञ्जालको दुरुपयोगलगायत विभिन्न कारण आत्महत्याका घटनासँग जोडिएका देखिन्छन् । तर आत्महत्यालाई एउटै कारणले मात्र व्याख्या गर्न नसकिने मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको भनाइ छ । आर्थिक, सामाजिक, पारिवारिक तथा मनोसामाजिक समस्या एकअर्कासँग जोडिँदा व्यक्ति गम्भीर संकटमा पुग्न सक्ने भएकाले रोकथामका लागि बहुआयामिक प्रयास आवश्यक हुन्छ ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले अपराध नियन्त्रणसँगै नागरिकको जिउधनको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा, लागुऔषधको प्रयोग, आर्थिक समस्या तथा विभिन्न सामाजिक कारणले आत्महत्याका घटना बढिरहेको उहाँको भनाइ छ ।
यस्ता घटना न्यूनीकरणका लागि परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले घरपरिवारमा बालबालिकासँग खुलेर कुरा गर्ने र सामूहिक छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “बालबालिकाको व्यवहारमा आएको परिवर्तनलाई परिवारले समयमै बुझ्नुपर्छ। उनीहरूका कुरा सुन्ने र आफ्ना समस्या खुलेर राख्न सक्ने वातावरण परिवारमै बनाउन आवश्यक छ,” उहाँको भनाइ छ ।
प्रहरीले घटनापछि अनुसन्धान गर्ने भूमिका निर्वाह गरे पनि जोखिममा रहेका व्यक्तिलाई घटना हुनुअघि नै पहिचान गर्ने र आवश्यक सहयोग तथा परामर्शमा जोड्ने काममा परिवार, विद्यालय, स्वास्थ्यकर्मी र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।
‘परिवारसँगै बसेर छलफल गर्ने संस्कार हराउँदैछ’
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी मनोपरामर्शदाता सुस्मा आचार्यका अनुसार आत्महत्याका घटनामा घरेलु हिंसा, दाइजो, प्रेम सम्बन्धमा आउने समस्या, विवाहेत्तर सम्बन्ध, सम्झौता तथा सहनशीलताको कमी, एकअर्काको भावना बुझ्न नसक्नु, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, परिवार तथा समाजको बेवास्ता, सामाजिक सञ्जालको दुरुपयोग र देखावटीपनजस्ता विभिन्न पक्ष जोडिएका छन् ।
उहाँका अनुसार पछिल्लो समय परिवारभित्रको आत्मीय संवाद र सामूहिक छलफलको संस्कार कमजोर हुँदै गएको छ ।
“पहिले जस्तो अहिले परिवारसँगै बसेर साझा छलफल गर्ने, सबैसँग घुलमिल हुने अवस्था कम हुँदै गएको छ । मानिसहरू सामाजिक सञ्जाल र आफ्नै कोठामा सीमित हुन थालेका छन् यसले एक्लोपन बढाउन सक्छ,” आचार्यले भन्नुभयो ।
परिवारले बालबालिकाको व्यवहारमा आउने परिवर्तनलाई गम्भीर रूपमा लिनुपर्ने उहाँको सुझाव छ । बालबालिकालाई पर्याप्त समय दिने, उनीहरूको कुरा सुन्ने र समस्या बुझ्ने वातावरण बनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
स्थानीय तहले मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि बजेटको दायरा बढाउनुपर्नेमा जोड दिँदै आचार्यले समयमै समस्या पहिचान गरी आवश्यक सहयोग नर्पुयाए आगामी दिनमा अवस्था अझ चुनौतीपूर्ण बन्न सक्ने बताउनुभयो । जिल्लाका पालिकामा बैदेशिक रोजगार सम्बन्धी सामी कार्यक्रम अन्तरगत मानसिक स्वास्थ्यका कार्यक्रम भएपनि यसको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकारका लागि पनि चुनौती
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल आत्महत्या रोकथाम स्थानीय सरकारका लागि चुनौती बन्दै गएको बताउनुहुन्छ ।
नगरपालिकाले सबै वडामा मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गरेको उहाँको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका परिवारमा देखिन सक्ने मानसिक तथा सामाजिक समस्यालाई ध्यानमा राख्दै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
त्यस्ता परिवारका लागि पालिकामा मनोविमर्शकर्तामार्फत परामर्श सेवा उपलब्ध गराउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
लागुऔषधको दुव्र्यसन, बेरोजगारी, चिन्ता, तनाव तथा डिप्रेसनलगायतका समस्या आत्महत्याको जोखिमसँग जोडिन सक्ने भन्दै अर्यालले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
परिवार तथा समाजमा आपसी समझदारी र सहयोगको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले ध्यान, योग तथा खेलकुदजस्ता गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
तथ्यांक बढ्यो, अब रोकथामको प्रश्न
कपिलवस्तुमा तीन वर्षमा ४ सयभन्दा बढी मानिसले आत्महत्या गरेको तथ्यांकले समस्या सामान्य नभएको देखाउँछ । अझ १६ देखि २५ वर्ष उमेर समूहको हिस्सा ठूलो हुनु थप चिन्ताको विषय हो ।
अब प्रश्न घटना कति भए भन्नेमा मात्र सीमित छैन । किन यस्तो भइरहेको छ र घटना हुनुअघि जोखिममा रहेका व्यक्तिसम्म कसरी पुग्ने ? भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ । विद्यालय तथा कलेजमा नियमित मनोसामाजिक परामर्श, स्थानीय तहमा मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, परिवारमा खुला संवाद र संकटमा रहेका व्यक्तिको समयमै पहिचान तथा सहयोगको व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
आत्महत्यालाई कमजोरी वा लाजको विषयका रूपमा हेर्ने सामाजिक सोच परिवर्तन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । समस्या परेको व्यक्तिले परिवार, साथीभाइ वा स्वास्थ्यकर्मीसँग आफ्नो अवस्था खुलेर भन्न सक्ने वातावरण निर्माण गर्न सके समयमै सहयोग पाउन सक्ने अवस्था बन्न सक्छ ।
कपिलवस्तुको पछिल्लो तथ्यांकले एउटा गम्भीर प्रश्न उठाएको छ—घटना भएपछि कारण खोज्ने कि घटना हुनुअघि नै जोखिममा रहेका व्यक्तिसम्म पुग्ने ? अब आत्महत्याका घटना गन्ने मात्र होइन, जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने, उनीहरूलाई सुन्ने र समयमै सहयोग गर्ने संयन्त्र निर्माण गर्नु आवश्यक देखिएको छ ।









प्रतिक्रिया