६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

चीन भ्रमण सकेर स्वदेश फर्किए मन्त्री चौधरी र पूर्वमन्त्री पन्थी


६ आश्विन २०८३ मंगलबार ००:००  

0
Shares

वाणगंगा ।

लुम्बिनी प्रदेशका बन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरी र पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी चीनको एकसाता लामो भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। उहाँहरू चीनको बेइजिङमा आयोजित ‘२०२६ प्रिसिजन न्युट्रिसन एन्ड अल्जाइमर्स डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल फोरम’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको हो।

सम्मेलनमा पोषण र अल्जाइमर्स रोगको रोकथाम तथा नियन्त्रण, पोषणसम्बन्धी हस्तक्षेप, मस्तिष्क स्वास्थ्य, रोगको प्रारम्भिक पहिचान तथा उपचार, दीर्घरोग रोकथाम र स्वास्थ्य प्रविधिका विषयमा विभिन्न देशका विज्ञ तथा अनुसन्धानकर्ताले अध्ययन, अनुसन्धान र अनुभव आदानप्रदान गरेका थिए।

इजिङस्थित Guoerzhao Hotel आयोजना गरिएको सम्मेलनमा अल्जाइमर्स रोगको रोकथाम तथा नियन्त्रणका लागि पोषणको भूमिका, नवीनतम अनुसन्धान, क्लिनिकल अभ्यास, उद्योग विकास तथा दीर्घरोग रोकथामका व्यावहारिक उपायबारे छलफल गरिएको थियो। कार्यक्रममा स्वदेश तथा विदेशका विज्ञ, अनुसन्धानकर्ता, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा उद्योग क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

चीन भ्रमणका क्रममा मन्त्री चौधरी र पूर्वमन्त्री पन्थीले बेइजिङस्थित नेपाली दूतावास तथा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्यदूतावासमा समेत भेटघाट र छलफल गर्नुभएको थियो। त्यहाँ नेपालको संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै चीनमा रहेका नेपाली कूटनीतिक प्रतिनिधिसँग नेपाल–चीन सम्बन्ध, सहकार्य र आपसी चासोका विषयमा छलफल भएको प्रदेश सभा सदस्य पन्थीले जानकारी दिनुभयो।

प्रदेश सभा सदस्य पन्थीले सरकारी प्रतिनिधिको भ्रमणका क्रममा नेपाली कूटनीतिज्ञहरूले देखाएको सक्रियता, चासो र समन्वयप्रति आफू सकारात्मक रहेको बताउनुभयो। उहाँका अनुसार दूतावास तथा महावाणिज्यदूतावाससँगको भेटघाटले चीनमा रहेका नेपाली समुदाय, स्वास्थ्य तथा अन्य क्षेत्रमा सम्भावित सहकार्यका विषयमा समेत जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।

भाद्र २८ गतेदेखि असोज ५ गतेसम्म चीनमा रहँदा बेइजिङ र ग्वाङ्झाउमा विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी भएको टोलीले जनाएको छ।

पोषण र अल्जाइमर्स रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताले नेपालमा पोषण, मस्तिष्क स्वास्थ्य तथा अल्जाइमर्स रोगको रोकथाम र नियन्त्रणसम्बन्धी अध्ययन, अनुसन्धान तथा जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सम्मेलनमा प्रस्तुत अन्तर्राष्ट्रिय अनुभव र अनुसन्धानलाई नेपालको स्वास्थ्य नीति तथा अभ्याससँग जोड्न सकिने बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३ मंगलबार ००:००  ९ : २६ बजे