२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?



काठमाण्डौ ।
गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा बढी हुने गर्छ ।
सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम रहेको पाइन्छ । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।
प्राथमिक उपचार

१. सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ । सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो ।

२. बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो ९स्प्लिन्ट० प्रयोग गर्न सकिन्छ ।

३. टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ ।

४. शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ ।

५. अनि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

के गर्नु हुँदैन ?

१. घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन ।

२. धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।

३. टोकेको ठाउँमा कुनै कडा रबर तन्कने वस्तु ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।

४. मद्यपान जाँड रक्सी खानु हुँदैन ।
डा. शेरबहादुर पुन

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ३ : ५८ बजे