८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बढ्दो गर्मीमा पिउनुहोस प्रशस्त पानी !



काठमाण्डौ ।
बढ्दो गर्मीसँगै यसबाट जोगिन विभिन्न उपाय अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

केही दिनयता तराईलगायत देशैभर गर्मी बढेकाले सावधानी अपनाउन फेमीली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिनुभएको छ ।

गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, दुषित पानी नखान, काँचो र नपाकेका खानेकुरा नखान उहाँले आग्रह गर्नुभएको छ ।

यस्ता खानेकुराले फुड पोइजनलगायतका स्वास्थ्य समस्या हुने उहाँको भनाई छ । यस्तै फोहोर र बासी खानाले पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउँछ । यस्तै गर्मी भएकाले जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन डाक्टर दवाडीको सुझाव छ ।

घाममा बसेर काम गर्दा पसिना मार्फत् शरीरमा भएको पानी बाहिर निस्कने भएकाले जाडो याममाभन्दा धेरै पानी पिउनुपर्ने उहाँको तर्क छ ।

यसैगरी सकेसम्म घाममा बसेर काम नगर्न, बस्नै परे सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खाने, पूरा बाहुला भएको लुगा लगाउने, टोपी लगाउने, हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर दवाडीले बताउनुभयो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  २ : ३१ बजे