२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सुआरेजले पेनाल्टी चुकाउँदा उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलबाट बाहिरियो



एजेन्सी ।

बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले खेल अवधिभर पेरुमाथि लगातार आक्रमण गरेपनि डिफेन्सलाई तोड्न भने सकेन । उरुग्वेका दुई स्टार फरवार्ड लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपनि त्यसलाई अफसाइड भएको भन्दै मान्यता दिइएको थिएन । पेरुका गोलरक्षक पेड्रो गलेसेले केहि राम्रो बचाउ पनि गरे ।

टाइब्रेकरको पहिलो प्रहारमा नै गोलरक्षक गलेसेले सुआरेजको प्रहार विफल पार्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले कुनै गल्ती गरेनन् । उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे ‌‌‌।पेरुका लागि पाउलो गुरेरो, राउल रुईडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेस गोल गर्न सफल भए ।

यस जितसँगै पेरु अन्तिम चारमा प्रवेश गरेको छ ‌। पेरुले फाइनल प्रवेशका निम्ति अब साविक विजेता चिलीको सामना गर्नेछ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : १९ बजे