१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भारतको सेमिफाइनल यात्रा तय भए इंग्ल्याण्ड संकटमा



एजेन्सी ।
जारी एक दिवसीय विश्वकप क्रिकेटमा अपराजित रहेको एक मात्र टिम भारतले आइतबार आयोजक इंग्ल्याण्डको सामना गर्दैछ । यो खेल जितेमा भारतले सेमिफाइनलमा स्थान पक्का गर्ने छ । पराजित भएमा पनि विकल्पका रुपमा आउँदा खेल छन् । तर इंग्ल्याण्डका लागि भने अन्तिम चारमा स्थान बनाउनका लागि भारतलाई हराउनु पर्ने हुन्छ । अहिलेसम्म खेलेका सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हारसहित इंग्ल्याण्डको ८ अंक छ ।

शनिबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि रामोञ्चक जित निकालेपछि इंग्ल्याण्ड दबाबमा परेको हो । पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको हो ।

जितपछि पाकिस्तान छैटौँ स्थानबाट उक्लिएर चौथो स्थानमा पुगेको छ । ८ खेल खेलेको उसले चारमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द भएकाले ९ अंक बनाएको छ ।

पाकिस्तान जितेर माथि उक्लिएपछि इंग्ल्याण्ड पाँचौँ स्थानमा झरेको छ । भारतसँगको खेलमा पराजित भए इंग्ल्याण्ड समस्यामा तानिने छ । सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले आइतबार भारत र जुलाई तीनमा हुने न्युजिल्याण्डसँगको खेल पनि जित्नु पर्ने हुन्छ ।

भारतसँग पराजित भएमा न्युजिल्याण्डसँगको खेल जितेमा पनि इंग्ल्याण्डको संकट टर्ने छैन । अहिलेसम्म अस्ट्रेलियाले १४, भारत र न्युजिल्याण्डले सामान ११ तथा पाकिस्तानको ९ अंक रहेको छ ।
भारतसँग हारेर न्युजिल्याण्डमाथि जित निकालेको अवस्थामा अन्तिम चारमा स्थान बनाउनका लागि इंग्ल्याण्डले पाकिस्तानको नतिजा पर्खनु पर्छ ।

पाकिस्तानले राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा जुलाई ५ मा बंगलादेशसँग खेल्नेछ । सो खेलमा पाकिस्तान पराजित भएमा इंग्ल्याण्डको सम्भावना रहन्छ । बंगलादेशलाई भने पाकिस्तानसँगको खेल मात्रै जितेर पुग्दैन, उसले भारतलाई पनि पराजित गर्नु पर्ने हुन्छ । आइतबार इंग्ल्याण्डसँग खेल्न लागेको भारतले त्यसपछि बंगलादेश र श्रीलंकासँग खेल्नेछ ।

हालसम्मको अवस्था हेर्दा जारी प्रतिस्पर्धामा भारतले सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । यस्तो अवस्थामा इंग्ल्याण्डका लागि भारतलाई पराजित गर्नु कठिन देखिन्छ । पाकिस्तान, श्रीलंका र अस्ट्रेलियासँगको हारले इंग्ल्याण्डलाई असजिलोमा पारेको हो ।
भारत आइतबारको खेल जिते सीधै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ । भारतका कप्तान विराट कोहलीसहितका सबै खेलाडी लयमा देखिएका छन् । कोहलीले जारी विश्वकपका पछिल्ला चार खेलमा लगातार अर्धशतक बनाएका छन् । उनले वेष्ट इन्डिजसँगको खेलमा ७२, अफगानिस्तानसँगको खेलमा ६७, पाकिस्तानसँगको खेलमा ७७ र अस्ट्रेलियासँगको खेलमा ८२ रन बनाएका हुन् ।

यस्तै रोहित शर्माले पाकिस्तान र दक्षिण अफ्रिकासँगको खेलमा शतक बनाएका थिए । अस्ट्रेलियासँगको खेलमा ५७ रन बनाएका शर्मा उत्कृष्ट लयमा छन् । यस्तै हार्दिक पाण्डेयसहितका खेलाडीको प्रदर्शन पनि राम्रो छ ।

कप्तान कोहलीलाई मन्द गतिमा खेलिरहेको भए पनि मेहन्द्र सिंह धोनीप्रति पनि विश्वास छ । कोहलीले स्पष्ट पारिसकेका छन् कि धोनीको अनुभवले गर्दा उनलाई कुनै पनि सल्लाह दिनु पर्ने अवस्था छैन ।

इंग्ल्याण्डका लागि कप्तान इयान मोर्गन, जोनी बेयरस्तो, जो रुट र जेम्स विंसको प्रदर्शन महत्वपूर्ण हुनेछ । यस्तै जोस बट्लर, बेन स्टोक्स, जोफ्रा आर्चनसहितका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । खेल नेपाली समय अनुसार आइतबार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : १९ बजे