१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

असार १५ राष्ट्रिय धान दिवस, कपिलवस्तुका विभिन्न स्थानमा भव्य रोपाई



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश सांसद विष्णु पन्थीले मुलुकको विकासको मुख्य चुनौती भनेको दिनप्रतिदिन बढिरहेको ब्यापार घाटा भएको बताउनु भएको छ । मुलुक कृषि प्रधान देश भएर पनि आत्मनिर्भर हुने वस्तुहरुमा समेत परनिर्भर हुँदा व्ययभार थोपरिएर मुलुकको विकास हुन नसकेको बताउनु भएको हो ।
कपिलवस्तुको बाणगंगा ८ चप्परगाउँमा आयोजना भएको १६ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले मुलुकले अहिले १४ खरबको ब्यापार घाटा ब्यहोरिरहेको आँकडा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो– “मुलुकको कुल बजेट नै १५ खरब छ । हामी १४ अरबको ब्यापार घाटामा छौँ, यो मुलुकको विकासमा मुख्य चुनौति हो । यो गतिले हामीले समृद्धि हासिल गर्न सक्दैनौँ ।” नुनदेखि गोलभेँडासम्म र गोलभेँडादेखि कोदोसम्म भारतबाट खरिद गर्नुपर्दा मुलुकको यो गति भएको सासद पन्थीको भनाई छ ।
देशमै उत्पादन हुन सक्ने चीजमा पनि हामी आत्मनिर्भर नभएर विदेशबाट आयात गर्नु विडम्बना भएको बताउँदै सांसद पन्थीले सबै निर्वाहमुखी भन्दा पनि ब्यवसायमुखी कृषिमा नघोत्लिएसम्म मुलुकको ब्ययभार कम नहुने बताउनुभयो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले कृषियन्त्र खरिदमा ठुलो अनुदान वितरण गरेको बताउदै उहाँले यसको सदुपयोग मात्र हुन सके मुलुकलाई धेरै फाइदा हुने बताउनुभयो । सांसद पन्थीले प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको लागि ५० करोड रुपैया कृषिजन्य उपकरणमा मात्रै विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश बजेटको कुल हिस्सा मध्ये ४ अर्ब बजेट कृषि र कृषिसंग जोडिएका पूर्वाधारमा विनियोजन भएको छ । कृषिमा ठुलो लगानी भइरहेको बताउदै साँसद पन्थीले अब सबैलाई ठुलो आकारका कृषि फर्महरु संचालन गर्न सुझाउनु भयो । केन्द्र सरकारले पनि कृषि उत्पादनलाई जोड दिएर कृषिजन्य बस्तुको आयातमा कमी ल्याउन सके व्यापार घाटा न्यूनिकरण हुने उहाँको दाबी छ ।
कार्यक्रममा परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भूषालले नेपालमा धानबाट मात्र बार्षिक २ खरब बराबरको आर्थिक कारोबार हुने तथ्य प्रस्तुत गर्नुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन नेपालका ३ जिल्ला कपिलवस्तु, झापा र बर्दियामा कार्यक्रम सञ्चालन भइरहेको बताउँदै आगामी ३ बर्ष परियोजनाले कृषिमा थुप्रै उपलब्धि हासिल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले बोल्दै मुलुकलाई आत्म निर्भर गराउने एक मात्र औजार कृषि भएको बताउनु भयो । मेयर मंगल प्रसाद थारुले नगरले अब कृषिलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गर्ने बताउँदै किसानलाई ढुक्क भएर उत्पादन गर्न आग्रह गर्नुभयो ।
धानखेतीमा प्रविधी र यान्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण भन्ने नाराका साथ १६ औं राष्ट्रिय धान दिवस मनाइएको हो । यस्तै आज कपिलवस्तुका अन्य स्थानीय तहमा पनि धान दिवस मनाइएको छ । बुद्धभूमि नगरपालिकाको टाँकुमा पनि आज मेयर केशव कुमार श्रेष्ठको सहभागितामा धान दिवस सम्पन्न भएको छ । जनप्रतिनिधि र सर्वसाधारणले खेतमा पसेर धान रोपेर धान दिवस मनाएका थिए । यस्तै शिवराजनगरपालिका र विजयनगर र मायादेवी गाउँपालिका लगायतका स्थानमा पनि धान दिवस धुमधामपूर्वक मनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ८ : १६ बजे