२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

पहिरोले पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालन



रामपुर ।
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भएको छ। तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ।
पहिरोले अवरुद्ध बनेको सडक शुक्रबार बिहान डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केही समयमा सडक दुईतर्फी रूपमै सञ्चालन गरिने सापकोटाले बताए।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ८ : २६ बजे