५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गौतम बुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो



रुपन्देही ।
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेशनल एअरपोर्टले चासो देखाएको छ ।
विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एअरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।
जर्मन सरकारको स्वामित्वमा रहेको त्यस कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ ।
नेपालस्थित जर्मनी राजदूतावासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।
’गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जर्मनले चासो दिएको छ, जर्मनी राजदूतले पर्यटन सचिवसँग छलफल गरिसक्नुभएको छ । अन्य देशबाट पनि प्रस्ताव आएका छन् । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ’, उहाँले भन्नुभयो ।
म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ । गौतम बुद्ध विमानस्थल सम्बन्धमा जर्मनी बाहेक अन्य देशबाट औपचारिक प्रस्ताव नआएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ’कसलाई जिम्मा दिने भन्नेबार सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।’
गएको जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानिर्देशक पोखरेलका अनुसार गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ ।
मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्रलगायत मन्त्रालयको प्रतिनिधि रहनेछन् । त्यसले प्रस्ताव छलफल गर्ने मूल्याङ्कन गर्ने र सरकारलाई सिफारिश गर्ने गरी मन्त्रालयले छिट्टै एकाइ गठन गर्ने जनाइएको छ ।
जर्मनीसहित अन्य देशबाट पनि विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको स्रोतले जनाएको छ । त्यही प्रस्तावका आधारमा मन्त्रालयले छलफल अघि बढाएको छ । म्युनिखले गौतम बुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ ।
आउँदो डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजनाका साथ धमाधम निर्माण भइरहेको गौतम बुद्ध विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण सम्पन्न भएको झण्डै तीन महिनापछि मात्रै व्यावसायिक रुपमा सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो । रासस

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : २८ बजे