५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

को हुन् पर्यटन मन्त्री योगेश भट्टराई ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले पाउनु भएको छ । करिब चार महिनादेखि नेतृत्वविहीन रहेको मन्त्रालयले भट्टराईलाई मन्त्रीका रुपमा आज पाउने निश्चित भएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले बुधबार चार बजे सपथ गर्ने मन्त्रीलाई अग्रिम शुभकामना भन्दै ट्वीट गर्नुभएको छ ।

को हुन् योगेश ?
नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उहाँलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै हुनुहुन्थ्यो । यही क्रममा उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो । हाल उहाँ एमालेको प्रभावशाली युवा नेताको रुपमा चिनिनु हुन्छ । विगतमा उहाँ नेकपाको प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव हुनहुन्थ्यो ।

२०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति हुनुभएको थियो । । २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी हुनुभयो । २०७५ सालसम्म आइपुग्दा पार्टीको शक्ति सन्तुलनमा भट्टराई माधवकुमार नेपाल र अधिकारी वामदेव गौतम हुँदै केपी ओली खेमामा पुग्नु भएको नेता हो ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो । भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याउँदै विजयी हुनुभएको थियो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले १६८८८ मत ल्याउनु भएको थियो । १४ हजार भन्दा बढी मतान्तरमा भट्टराईले दाहाललाई हराउनु भयो । उहाँले पछिल्लो केही समय केपी ओलीको कट्टर आलोचना गर्नुहुन्थ्यो भने हेलिकप्टर दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि केपी ओलीले उहाँलाई सो मन्त्रालयको जिम्मा लिन आग्रह गर्नुभएको थियो । यद्यपी उहाँले त्यतिबेला सो मन्त्रालय इन्कार गर्नुभएको थियो । अहिले भने उहाँ ओलीको नजिक रहेको बुझिएको थियो ।

२०६५ सालमा तत्कालीन नेकपा एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि पार्टीभित्र भट्टराईको लोकप्रियता बढेको थियो। पार्टी पंक्तिमा भट्टराई विशेषगरी युवाहरुको रोजाइमा पर्ने गर्छन्।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ३ : २४ बजे