२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रदेश ५ को अर्थ मन्त्रालयले कहिले पूर्णता पाउँला ?



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश सरकार गठन भएको डेढ बर्ष पुगे पनि प्रदेश नं. ५ को मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन् । मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्रालय पछिको महत्वपूर्ण मन्त्रालयको रुपमा हेरिने अर्थ मन्त्रालयले प्रदेशमा पूर्णता नपाएको हो । प्रदेश सरकारले अझै केही मन्त्रालय फुटाएर भएपनि मन्त्रालयलाई थप गर्ने योजना बनाएको थियो । तर, डेढ बर्ष वितिसक्दा पनि अझै मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन् । प्रदेशको मन्त्रीमण्डलले तत्कालिन एमाले र तत्कालिन माओबादी केन्द्रबीच पार्टी एकता नहुँदै पूर्णता पाएको थियो । त्यति बेला एमाले र माओबादीले केही मन्त्रालय बाँडेका थिए ।
प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेपनि प्रदेश सरकारलाई भवनको अभाव छ । प्रदेशको अस्थायी मुकाम कुन ठाउँ हुने हो अझै एकिन हुन नसक्दा अन्यौलता बढ्दो छ । यसैको असर मन्त्रालयले पूर्णता पाउनमा भएको दाबी गरिन्छ । प्रदेश सरकारले दोस्रो बर्षको बजेट ल्याइ सकेको छ भने एउटा बजेट कार्यान्वयन गरिसकेको छ । यद्यपि प्रदेशमा अझै अर्थ मन्त्रीको टुंगो छैन् । हाल यो मन्त्रालय मुख्यमन्त्री शंकर पोख्रेल मातहत रहेको छ । मुख्यमन्त्री पोख्रेलले नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
मन्त्रीमण्डलले पूर्णता पाउन नसक्नुमा भवन अभाव देखाएर टार्ने काम भैरहेको केही प्रदेश सांसदको दाबी छ । प्रदेश सरकारले विभिन्न संसदीय समिति गठन गरेर काम गरिसकेको अवस्थामा अर्थ मन्त्रालय जस्तो ठाउँमा मन्त्री नियुक्त नहुनुलाई कतिपय सांसदले अच्चम मान्ने गरेका छन् । यद्यपि विशेष सुत्रका अनुसार प्रदेशको अर्थ मन्त्रालयको गठन गुटगत मानसिकताकै कारण नभएको स्रोतको दाबी छ ।
अर्थ मन्त्रालयमा कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीको विगत देखी नै चर्चा हुदै आएको थियो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय सांसद पन्थी यहाँका लोकप्रिय सांसद हुनुहुन्छ । व्यवस्थापन संकायबाट मास्टर्स उत्रीर्ण पन्थी अर्थमन्त्रीको लागि पनि योग्य हुनुहुन्छ । तर, पार्टीमा देखिएको चरम गुटबन्दीले पन्थीलाई मन्त्री बन्नबाट रोकिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले नै प्रदेश ५ को अर्थमन्त्री बन्न नदिएको आरोप लाग्दै आएको छ । पार्टीका महासचिव विष्णु पौडेलको पनि यो मन्त्रालयलाई पूर्णता नदिनुमा महत्वपूर्ण हात रहेको बताइन्छ । अर्थ मन्त्रीका दाबेदार पन्थी पार्टीको नवौं महाधिवेशनमा माधव कुमार नेपाल प्यानलबाट केन्द्रिय सदस्यमा उठ्नुभएको थियो । त्यसैको रिसिइबी साटेर मन्त्री बनाउनबाट रोक लगाइएको आरोप छ ।
कतिपयले यो बर्ष नै प्रदेशको अर्थमन्त्रालयले पूर्णता पाउनेमा आशा गर्छन् । यद्यपि यसको कुनै चर्चा परिचर्चा अहिले छैन् । गत आवको बजेट खर्च राम्रैसंग भएको भन्दै मुख्यमन्त्री पोख्रेल खुसी हुनुहुन्छ । मंगलबार मात्र पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री पोख्रेलले यस बर्ष सोचेभन्दा राम्रोसंग बजेट खर्च गर्न सकिएको बताउनुभयो । प्रदेश ५ को बजेट गत आवमा ७४ प्रतिशत सम्पन्न भएको छ ।
बजेट खर्च हिसाबमा राम्रै भएपनि प्रदेशलाई दु्रत विकास गर्नबाट असफल भएको आरोप मुख्यमन्त्री पोख्रेललाई लाग्ने गरेको छ । सरकार गठन भएको दुई बर्ष पुग्नै लाग्दा प्रदेशले स्थायी मुकाम नपाउनु, नामाकरण गर्न नसक्नु जस्ता प्रदेश सरकारका असफलता हुन् । मुख्यमन्त्री पोख्रेललाई दोहोरो जिम्मेवारी भएको कारण पनि काम गर्न समस्या भएको पनि बताइन्छ । पार्टीको प्रदेश कमिटी इन्चार्जको भूमिकामा पनि पोख्रेल हुनुहुन्छ ।
यता प्रदेशका अर्थमन्त्रीका दावेदार मानिनुभएका सांसद विष्णु पन्थीले भवन अभावका कारण मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको बताउनुभयो । मन्त्री बनाउन गुट उपगुट भन्ने होइन् भवन अभावका कारण पूर्णता नपाएको उहाँको भनाई छ ।
यद्यपि अर्थ मन्त्रालय जस्तो प्रदेशको जिम्मेवार मन्त्रालयले छिट्टै पूर्णता पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री को बन्ने, कसलाई बनाउने भन्ने कुरा गौण भएको उहाँले बताउनुभयो । ‘मुख्यमन्त्रीले आवश्यक पर्ने सांसदलाई मन्त्री बनाउनुहुन्छ नै उहाँले भन्नुभयो, यसमा कुनै चिन्ता गर्ने विषय होइन् ।’

दाङलाई मुख्यमन्त्री, रुपन्देहीलाई राजधानी कपिलवस्तुलाई के ?

प्रदेश राजधानीको माग गर्ने प्रमुख जिल्ला कपिलवस्तु पनि हो । यद्यपि दाङ र रुपन्देहीका ठूलाठालु नेताले कपिलवस्तुलाई प्राथमिकता दिने गरेका छैनन् । प्रमुख पार्टीका प्रमुख नेता दाङ र रुपन्देहीबाट भएपनि कपिलवस्तुमा छैनन् । त्यसैले पनि कपिलवस्तु पछाडि पर्दै आएको छ । प्रदेश राजधानीको चर्को माग उठ्दा दाङले मुख्यमन्त्री पायो भने रुपन्देहीले अस्थायी राजधानी । तर, कपिलवस्तुले एउटा मन्त्री पनि पाएन । जवकि कपिलवस्तुबाट प्रदेशको ६ निर्वाचन क्षेत्र छ । प्रत्यक्ष तर्फका ६ जना सांसद र समानुपातिक गरी झण्डै १३ जना सांसदले यस जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्छन् । तर, प्रदेशले कपिलवस्तुलाई ओझेलमा पार्दै आएको कपिलवस्तुबासीको गुनासो छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ७ : ३४ बजे