२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सहकारी बजारको उद्घाटन गर्दै मन्त्रीले भनिन, ‘अब बजारीकरणको जिम्मा प्रदेश सरकारले लिन्छ’



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि सहकारी बजारले स्थानीय किसानले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र कृषि सहकारी बजारको शुभारम्भ गर्दै मन्त्री पौडेलले ढुक्क भएर उत्पादन गर्न किसानलाई अनुरोध गर्दै बजारीकरणको जिम्मा प्रदेश सरकारले लिने दाबी गर्नुभयो ।

फलफूल तरकारी, खाद्यान्न लगायतका सामग्री उत्पादनमा हरेक किसान अग्रसर भएमा मात्र मूलुकमा विकास हुने बताउनुभयो । विगतका वाईसीएल, युथफोर्स, तरुण दल लगायतमा संलग्न युवाहरु आजभोली बेकामे भएको बताउँदै प्रदेश सरकारले आगामी बर्षबाट युवा लक्षित कृषि कार्यक्रम लागू गर्ने उहाँले बताउनुभयो ।

कृषिको नाममा जनतालाई ठग्ने जो कोहीलाई पनि कार्रबाही गरिने बताउँदै मन्त्री पौडेलले कुराभन्दा काम धेरै गर्न आग्रह गर्नुभयो । विषादी परिक्षणको प्रसंग निकाल्दै मन्त्री पौडेलले संघीय सरकार यस विषयमा पछि हटेपनि प्रदेश सरकार पछि नहटेको बताउनुभयो । रुपन्देहीको सुनौली नाका र नेपालगञ्ज नाकामा प्रदेश सरकारले अहिले पनि विषादी परिक्षण गरिरहेको भन्दै आयतित बस्तुहरुको शुद्धतामा ढुक्क रहन सबैमा आग्रह गर्नुभयो । आफ्नो कार्यकालसम्म प्रदेशका सबै अव्यवस्थित भूमिको व्यवस्थापन गरिने उहाँको भनाई छ ।

प्रदेश सांसद विष्णु पन्थीले कृषि बजारलाई नाफारहित ब्यापारिक केन्द्रकै रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मूलुक अहिले आत्मनिर्भर हुने कुरामा पनि परनिर्भर हुँदा चौध खरब बराबरको व्ययभारमा रहेको उदाहरण पस्कदै सांसद पन्थीले कृषि उत्पादनमा लाग्न सबै किसानलाई आग्रह गर्नुभयो ।
नेकपा कपिलवस्तु सह इन्चार्ज विमला घिमिरेले जनताका कृषि उपजलाई संकलन गर्न यसले महत्वपूर्ण भूमिका खल्नेमा विश्वास व्यक्त गर्नुभयो । जनताले विश्वास नगरेसम्म सहकारीको एक्लो प्रयासले उद्धेश्य पूरा नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष झबिलाल पोख्रेलले अहिलेको कृषि प्रणाली निर्वाहमुखी भएको बताउँदै अब सबै व्यवसायिक कृषिमा लागेमा मात्र समृद्धिको सपना साकार हुने बताउनुभयो । अझै पनि कर्मचारीतन्त्रबाट सोझासाझा किसानहरु माथि थिचोमिचो भैरहेको भन्दै आवश्यक काम भन्दा अन्य ढंगबाट किसानहरुलाई व्यवहार गर्न नहुने बताउनुभयो ।

कर्मचारीतन्त्रमा सुधार नआएसम्म कृषिको क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै प्रदेशले किसानलाई दिदै आएको अनुदान पनि राम्रो ढंगबाट अगाडी नबढेको बताउनुभयो । अनुदानमा विचौलियाकै हालिमुहाली भएको आफुले देखेको भन्दै त्यता तिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख बिनोद घिमिरे, सहकारी शाखाका शाखा अधिकृत ज्ञानहरि पन्थी लगायतको उपस्थिती रहेको थियो । सहकारीका अध्यक्ष सूर्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुराम अर्यालले गर्नुुभएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ८ : ४९ बजे