दिपक खड्का, चन्द्रौटा ।
मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको कपिलवस्तुका किसानले बताएका छन् । ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ, तर पनि बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।’ एक किसानले भने ।
अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको बिक्री वितरण गर्दै आएको छ । आधिकारिक बिक्रेताबाट मात्र बिक्री गर्नुपर्ने सो मल कपिलवस्तुको चन्द्रौटा स्थित शिवगढी सहकारी संस्था लगायत एग्रोभेटका व्यापारिक पसलबाट तोकेभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ ।
मलको बिक्री वितरणमा अपनाइएको प्रणाली नै गलत रहेकोले रासायनिक मलमा राज्यले दिएको अनुदान कृषक समक्ष पुग्दै यसको चोरी बजारी भएको छ । मल बिक्री वितरणको जिम्मा पाएको यी संस्थाले ५० किलो बोराको अनुदानको युरिया मल रु ८२६, डिएपी रु दुई हजार २७६ तथा पोटास रु एक हजार ६७६ बिक्री मूल्य तोकेकामा बजारमा उक्त मल युरिया प्रतिकिलो रु ३०/३५ र ५० केजी बोराको १५००, डिएपी प्रतिकेजी रु ६०/६५ र ५० केजी बोराको ३०००/३१०० र पोटास प्रतिकेजी रु ६०/६५ र ५० केजी बोराको ३१००सम्ममा बिक्री भइरहेको छ ।
यस्ता सहकारी संस्थाले मल बिक्री गर्दा प्रति बोरामा रु १२ देखि ५० सम्म छुट दिने हो तर सो मल बिक्री गर्दै आएका कतिपय सहकारी संस्थाले आफूखुशी मूल्य तोकेर बिक्री गर्ने गरेका किसानले बताएका छन् । मल बिक्री गरी मनग्य आम्दानी गर्न पाइने भएपछि कपिलवस्तुमा विभिन्न ठाउँमा मल बिक्री गर्नेतर्फ केन्द्रित भई धमाधम सहकारी संस्था स्थापना हुने क्रम बढेको छ ।






प्रतिक्रिया