५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सामुदायिक विद्यालयको शिक्षा सुधार्न प्रधानाध्यापकसंग करार सम्झौता : नगर प्रमुख श्रेष्ठ (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्न विभिन्न प्रयास थालिएको बताउनुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग सोमबार कुराकानी गर्दै नगर प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकसंग करार सम्झौता गरिएको बताउनुभयो । यस बर्ष देखि प्रधानाध्यापकसंग करार सम्झौता गरेर सामुदायिक विद्यालयको शिक्षा सुधार्ने अभियानमा लागेका छौं उहाँले भन्नुभयो, “यो बर्ष देखि कडाईका साथ अभियान चलाएका छौं, यसले पक्कै पनि सामुदायिक विद्यालय सुध्रिन्छन् भन्ने हाम्रो अपेक्षा छ ।”
नगरपालिकाले प्रधानाध्यापकसंग करार सम्झौता गरेको र प्रधानाध्यापकसंग शिक्षकले करार सम्झौता गरेको उहाँले बताउनुभयो । शिक्षा नै विकासको प्रमुख मेरुदण्ड भएकोले आफुहरु शिक्षाको सुधारमा लागेको प्रष्ट पार्नुभयो । गत बर्ष कक्षा ५ र कक्षा ८ को परीक्षा नगर स्तरीय रुपमा सम्पन्न गरिएको भन्दै यस बर्ष देखि अरु कक्षाका परीक्षा पनि नगर स्तरीय नै गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
नगर स्तरीय परीक्षा राखेपछि विद्यार्थीको बास्तविक नतिजा थाहा पाइने नगरपालिकाको विश्वास छ । प्रधानाध्यापकसंग गुणस्तरीय शिक्षाका लागि करार सम्झौता गरि रहदा परीक्षामा चलखेल हुन सक्ने आशंका छ । परीक्षा खुकुलो पार्ने र गुणस्तरीय शिक्षाको जस आफुले पाउने काममा कतिपय प्रधानाध्यापक लाग्न सक्ने भएकोले अब सबै परीक्षा नगर स्तरीय बनाउने तयारी नगरपालिकाले थालेको हो ।
नगरको शिक्षा सुधारमा गत बर्ष भन्दा यस बर्ष बजेट बढाएको बताउनुभयो । शिक्षक दरबन्दी अभावका कारण कतिपय विद्यालयमा समस्या भएकोले त्यसलाई अन्त्य गर्नका लागि नगरपालिकाले स्वय्मसेवी शिक्षक राखेको पनि उहाँले बताउनुभयो । नगरपालिका पूर्ण भर्ना र पूर्ण साक्षर घोषणा भैसकेको भन्दै अब यसलाई टिकाई राख्न विभिन्न प्रयास थालिएको उहाँले बताउनुभयो ।
यसैबीच नगर प्रमुख श्रेष्ठले गत बर्ष ८५ प्रतिशत बजेट खर्च गर्न सकिएको बताउनुभयो । नगरका भौतिक निर्माणका कामहरु अधिकांश पूरा भएको पनि उहाँले बताउनुभयो । केही ठूला कामहरु ठेकेदारका कारण समयमा हुन नसके पनि अधिकांश कामहरु तोकिएकै समयमा सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

प्रकाशित मिति : ९ भाद्र २०७६ सोमबार ००:००  ८ : ०९ बजे