२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मरेको जनावरको सिनो खाने हाइना असुरक्षित



सल्यान ।
सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महिनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये २ उपचारका क्रममा मरेका छन् ।
बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला परेका २ हाइना डिभिजन वन कार्यालयमा उपचारका क्रममै मरेका थिए ।
स्थानीय भाषामा गधेबाघको नाममा परिचित हाइनालाई मानिसले विभिन्न स्थानमा पासो थाप्ने गरेकाले पासोमा परेर घाइते भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘जङ्गली जनवारबाट स्थानीयले बच्न घर वरिपरि पासो थाप्ने र त्यसमा अल्झेर हाइना परेको हुनसक्छ’ प्रमुख कार्कीले भन्नुभयो, ‘सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारीसाधनले ठक्कर दिएर पनि घाइते भएका हुनसक्छन्, जिल्लाका अधिकांश सडकबाट जङ्गली जनावर वारपार गर्ने भएकाले पनि धेरै खतरामा परेका छन् ।’
हुडार भनेर पनि चिनिने हाइना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने हाइना सीमित सङ्ख्यामा छन् । नेपाललगायत अफ्रिका तथा एशियाका जङ्गलमा हाइना पाइन्छ तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । डिभिजन कार्यालयका अनुसार नेपालमा हाइना २०० भन्दा बढी सङ्ख्यामा छैनन् ।
मरेको जनावरको सिनो खाने हाइना अर्थात् हुडारले पछिल्लो समय बस्तीमा छिरेर कुखुराको खोर भत्काएर कुखुरालाई पनि खाने गरेको स्थानीय बताउँछन् । कुखुरा खान गाउँमा पसेका हाइनालाई विष राखेर मार्ने गरेकाले हाइना सङ्कटमा पर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०७६ शुक्रबार ००:००  ९ : २४ बजे