५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डेँगु भएको कसरी थाहा पाउने र रोकथाम के ? डा. रंजिता महतोको टिप्सः अन्तर्वार्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।
अहिले देशभर डेँगुले महामारीको रुप लिएको छ । काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ । कृषि मन्त्री चक्रपाणी खनाल, अन्य २ चिकित्सकसंगै धेरै यस रोगका सिकार भएका छन् । मुख्य गरी दिउँसोमा टोक्ने पोथी लामखुट्टेले टोक्दा यसको महामारी फैलन्छ । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ र यो जताततै शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् ।

डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको पिपरा अस्पतालकी डाक्टर रंजिता महतोले बताउनु भयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै महतोले यसका लक्षण र बच्न सकिने उपायबारे धेरै कुरा बताउनु भएको छ ।

उहाँका अनुसार  डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुट्टेले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् । तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ ।

डेंगुका लक्षण

  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु, पेट दुख्नु
  • वाकवाकी लाग्नु
  • आँखाको गेडी दुख्नु
  • जीउ, जोर्नी दुख्नु
  • उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु

रोकथामका उपाय

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
  • बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
  • पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
  • फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
  • एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने
  • बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
  • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
  • घरका झ्याल ढोकामा जाली लगाउने
  • घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने

डेंगु देखिए के गर्ने ?

  • डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
  • उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
  • उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
  • समयमा नै रगत परीक्षण गराउनुपर्छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  ९ : ३१ बजे