४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

खाद्य ऐन विपरित सामान बिक्री गर्ने दुई व्यापारी पक्राउ



परासी ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गरी सामान बिक्री गरेको आरोपमा जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले बुधबार दुईजनालाई पक्राउ गरेको छ । एक उद्योगमा शिलबन्दी गरेको छ । पक्राउ पर्नेमा पानी उद्योग र मिष्ठान पसलका व्यवस्थापक हुन्।
रामग्राम नगरपालिका-१५ हकुईमा सञ्चालन गरिएको ’साई वाटर इण्डष्ट्रिज’ ले विभिन्न ब्राण्डका जारमा खाद्य ऐन विपरित पानी भरेर बिक्री गर्ने गरेको पाइएको बजार अनुगमन समितिका संयोजक एंव जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए ।
उक्त उद्योगले आधुनिक स्वचालित प्रविधिबाट पानी उत्पादन गर्नुपर्ने भएपनि प्लाष्टिकको कालो टंकीमा जम्मा गरेर राखिएको पानी सामान्य फिल्टरबाट भरेर बिक्री गर्ने गरेको पाइएको हो । आफ्नो उद्योगबाहेक त्रिगंगा, सृष्टि, एभरेष्ट, प्रान्जल, नेहालगायतका ब्राण्डका जारमा पानी भरेर बिक्री गर्ने गरेको पाइएको अर्यालले बताए । उद्योगका सञ्चालक सुशिला गुप्ता र किरण बनियाँ हुन् । अनुगमनका क्रममा सञ्चालक फेला नपरेपछि उद्योगमा शिलबन्दी गरेर व्यवस्थापक सुनिल कुमार गुप्तालाई पक्राउ गरिएको छ । पक्राउ परेका गुप्तालाई बयानका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय भइरहवामा पठाइएको छ ।
त्यसैगरी फोहोर पानी बग्ने ढलमाथि भान्छा बनाएर मिठाई तथा अन्य नास्ता बनाउँदै आएको दरमुकाम परासीस्थित ऋद्धिसिद्धि मिष्ठान भण्डारका व्यवस्थापक राजन हलुवाईलाई पक्राउ गरिएको छ ।
उक्त मिष्ठान भण्डारले सेतो मटरलाई हरियो बनाउन केमिकल प्रयोग गरेर राखेको पाइएको छ । ढलमाथि राखिएको किचन अनुगमन र खाद्य सामग्री मा भएको मिसावट निरीक्षण गर्न जाने क्रममा अवरोध सृजना गरेपछि हलुवाईलाई पक्राउ गरिएको अर्यालले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको छ । सोधपुछपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  ६ : ३६ बजे