२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

नेपाली भूमिबारे चुइक्क बोल्न नसक्ने ‘लुते सरकार’: वरिष्ठ सीमाविद् नेपाल (अन्तर्वार्ता)



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गर्दा नसरकार चुइक्क बोल्न नसक्नु नेपालकै लागि लज्जा भएको वरिष्ठ सीमाविद् फणिन्द्र नेपालले बताउनु भएको छ । नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र नेपालको हुँदाहुँदै भारतले नेपाललाई हेपेर नयाँ नक्सा सार्वजनिक गरेकोमा आक्रोश ब्यक्त गर्दै नेपालले यस विषयमा सरकार मौन बस्नु चरम लज्जाको विषय भएको उहाँको भनाई छ ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको समय संवादसंग आज विहान कुरा गर्दै सिमा अभियान्ता नेपालले भारतले नयाँ नक्सा सार्वजनिक गरेको ५ दिनसम्म पनि नेपालका प्रधानमन्त्री, गृह मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्री मुख बानेर बस्नुले भारतसामु नेपाल कति नीरिह रहेछ भन्ने कुरा प्रष्ट भएको उहाँको भनाई छ । कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने थाहा हुँदा हुँदै पनि भारतले जानाजान यो गरेको भन्दै नेपालले सरकारले आजै आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने माग गर्नु भयो ।

ग्रेटर नेपालका अध्यक्ष समेत बनिसक्नु भएका नेपालले लिम्पियाधुरादेखि ३१० वर्ग क्वायर किलोमिटर जग्गा नेपालले गुमाइसेकको स्मरण गर्दै नेपालमाथि भारतले बारम्बार थिचोमिचो गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पश्चिम नवलपरासीको सुस्ता त्रिवेणीका जनता पनि त्यस्तै समस्याबाट रातदिन पिरोलिरहेको भन्दै उहाँले भारतको ठाडो हस्तक्षेप बन्द नहुँदासम्म सिमाबासीहरुले कहिल्यै सुखको सास फेर्न नसक्ने बताउनु भयो ।

सन् १९६५ देखि नै भारतले नेपाली कब्जा गर्दै आइरहेको भए पनि सरकारले केही गर्न नसकेको भन्दै उहाँले यो सरकारलाई ‘लुते’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो– “राष्ट्रियताको विषयमा भारतले यति मजाक गरिरहँदा पनि नेपाल सरकार नबोलेर लुते, लाक्षी, नीरिह र निकम्मा बनेको प्रष्ट हुन्छ । लिपुलेक विवादको बारेमा चीनले नेपालको हितमा चासो देखाएको छ । तर नेपालले चासो देखाएको छैन । भारतको ठाडो हस्तक्षेप छ । लिपुलेकमा नेपालले राजस्व उठाउनु पर्नेमा उल्टै गुमाउनु परेको छ । जुन नेपाल र समस्त नेपालीको लागि ठुलो विडम्बना हो ।”
भारतको नयाँ नक्सा र उत्पन्न विवादबारे नेपाल नापी विभागले सार्वजनिक गरेको धारणा नेपालको राष्ट्रियताको हित विवपरित भएको उहाँके भनाई छ ।

भारतले सार्वजनिक गरेको नक्सा आन्तरिक हो, नेपाली आत्तिनु हुँदैन भनेर दिएको टिप्पणी खतरनाक रहेको भन्दै नापी विभागका महानिर्देशकको नेपालीहरुले कठालो समात्नु पर्ने उहाँले बताउनु भयो । भारतको नयाँ नक्साबारे परराष्ट्रका एक जना जिम्मेवार व्यक्ति राजन भट्टराइले दिएको प्रतिक्रिया पनि आपत्तिजनक भएको भन्दै नेपालले आक्रोश पोख्नु भयो । यस विषयमा हामीले बुझ्दै छौँ भन्नुले पनि नेपालका राजनैतिक दलका नेता भारतसामु कति लम्पसार छन् भन्ने कुरा प्रमाणित भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगरे आगामी दिनमा भारतले नेपालमाथि हेपाहा थप प्रवृत्ति लाद्नमा दुई मत नरहेको उहाँले बताउनुभयो । नेपालसंग भएको यो कुराकानी यहाँले मायादेवी अनलाइन डट कमको फेसबुक पेजमा आफूले चाहे अनुसार डाउन लोड गरेर सुन्न सक्नु हुने छ भने बुधबार राति १० बजेपछि सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट पुनः प्रसारणको रुपमा सुन्न सक्नु हुने छ ।

पुरै अन्तर्वार्ता सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ८ : ४० बजे