२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

सडककै कारण ठूलो दुर्घटना भोग्यौः रामजी घिमिरे (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
अर्घाखाँचीका प्रदेश सांसद रामजी घिमिरेले सडककै कारण नरपानीमा बस दुर्घटना भएको बताउनुभएको छ । साँघुरो सडकले गर्दा यात्रुबाहक बस दुर्घटना भएको घिमिरेले आशंका व्यस्त गर्नुभयो । अर्घाखाँचीको सडक सिंगल लेनको भएको कारण पटक पटक सवारी दुर्घटनाको सामना गर्नुपरेको उहाँले बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादमा बोल्दै सांसद घिमिरेले बस दुर्घटना भएको स्थानमा घुम्ति भएको, वरिपरी रुख नभएको, अनकन्टार भीर रहेकोले ठूलो दुर्घटना भएको बताउनुभयो । बस झण्डै साढे तीन सय मिटर तल खसेको घिमिरेले बताउनुभयो । सडक नै दुर्घटनाको प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।
असोज यता यस वरिपरि दुई ओटा जीप दुर्घटना भएका थिए । दुर्घटनामा आधा दर्जनको ज्यान गएको थियो । जीप दुर्घटना भएपछि सम्भावित दुर्घटनालाई रोक्न नरपानी देखि घुम्तिसम्म बाटो विस्तारको काम मंगलबारबाट सुरु भएको उहाँले बताउनुभयो । दुई ओटा जीप दुर्घटना भएपछि आफु सडक डिभिजन कार्यालय शिवपुरमा गएर बाटोको मोड काट्न आग्रह गरेको स्मरण गर्नुभयो ।
यो सडकखण्डको काम चल्दा चल्दै बुधबार अर्को ठूलो दुर्घटना भयो जसले हामीलाई थप गम्भिर बनाएको छ उहाँले भन्नुभयो, ‘अब हामीले सडकलाई ढिला नगरी सुधार गर्नुपर्छ ।’ अर्घाखाँचीको बाटो फराकिलो बनाउन आफुले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासंग भेटेर पहल गरेको उहाँले स्मरण गर्नुभयो । पटक पटक यस विषयबारे राज्यलाई घचघचाए पनि सोचेजस्तो काम नभएको बताउनुभयो ।
दुर्घटनाबाट गम्भिर घाइतेहरुको उपचारमा भैरहेको र बुटवल, भैरहवामा उपचार सम्भव नभए हेलिकप्टरबाट काठमाडौं लगिने घिमिरेले बताउनुभयो ।

सुन्नुहोस अडियो अन्तर्वार्ता

 

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ८ : ०४ बजे