नेपालगञ्ज ।
ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त बनेको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि तोडफोड र आगजानी भएको छ ।
घाइतेको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोशित विद्यार्थीहरुको समूहले ट्रक तोडफोड र आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले नेपालगञ्ज-कोहलपुर सडकमा कयौँ गाडीमा तोडफोड गरेका छन् । तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ । त्रिभूवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन् ।
भीड तितरबिर पार्न प्रहरीले हवाई फायर गरेको छ । ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ । झडपपछि सडक ठप्प छ । तनाव बढेपछि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ ।






प्रतिक्रिया