२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

प्युठानमा छैन भ्रमण वर्ष २०२० को सुरसार



सलिम अन्सारी, प्युठान ।
नेपाल भ्रमण वर्ष सुरु हुन अब दुई दिन मात्र बाँकी छ । भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर, जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन । कतै तयारीको छनक छैन ।
प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको काम समेत हुन सकेको छैन । स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम सुरु गरेका छैनन् । जसका कारण लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ । यहाँस्थित होटल व्यवसायी, उद्योगी ब्यापारि, स्थानीय तह, पत्रकार लगायतसंग प्रचुरमात्रा छलफल बहस हुन सकेको छैन ।
जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजी समेत भएकोछैन । तयारी गर्ने समय घर्किसक्दा पनि पर्यटन समिती समेत नबन्दा पर्यटक आकर्षण गर्ने र त्यसलाई प्रवर्द्धन गर्ने गरी अन्य कार्यक्रम हुन नसकेका हुन ।
भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।
सरकारले एक सय वटा गन्तव्य सूचिकृत गर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्धारी सहित झिमरुक गाउपालिकाको ढाँड स्थित रक गार्डेनलाई छानिएको छ । गौमुखी, ऐरावती सहितका अन्य महत्वपुर्ण पर्यटकिय गन्तवयहरु प्रचार प्रसारको अभावमा ओझेलमा छन ।
स्वर्गद्धारी सहितको गन्तव्यलाई एकीकृत गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधार बिकास गर्न नसकिए पर्यटक भित्र्याउन सम्भव नहुने सरोकारवालाहरुको मत छ । उता जिल्ला समन्वय प्रमुख केशव राज आचार्यले पर्यटन वर्षलाई लक्षित गरेर जिल्लामा विशेष तयारी गरिने बताउनुहुन्छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ५ : ०५ बजे