१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिद्धार्थको सामाजिक लेखाजोखा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ सामाजिक विकास केन्द्रले बार्षिक सामाजिक लेखाजोखा सम्पन्न गरेको छ । संस्थाले सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थासंग सहकार्य गरेर समुदायमा विभिन्न काम गर्दै आएको छ ।
हरेक बर्ष सामाजिक लेखाजोखा गर्दै आएको सिद्धार्थले समुदायमा पारदर्शीता अभिवृद्धि गर्न यस बर्षपनि निरन्तरता दिएको हो । संस्थाले समुदायमा संचालन गरेका कार्यक्रम र उपलब्धीलाई सामाजिक लेखाजोखा मार्फत सार्वजनिक गर्ने गरेको छ ।
कार्यक्रममा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित साझेदारी कार्यक्रमका संयोजकहरुले आ–आफ्ना बार्षिक गतिविधी र उपलब्धीको बारेमा जानकारी गराएका थिए । शिक्षा, बालअधिकार, किशोरी सशक्तिकरण, जीविकोपार्जन, समुदायमा सीप तथा रोजगार मूलक कार्यक्रमहरु संचालन गर्दै आएको केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै जिल्ला समन्वय समितिकी उप–प्रमुख तारावती चौधरीले सिद्धार्थ सामाजिक केन्द्रले समुदायमा गरेको काम प्रशंसायोग्य रहेको बताउनुभयो । समाजमा पछाडि पारिएका समुदायमा राम्रो काम गर्दै आएको चर्चा गर्दै उप–प्रमुख चौधरीले यसको निरन्तरताको शुभकामना दिनुभयो । उहाँले संस्थाले आफ्ना गतिविधिलाई सरोकारवाला तथा लक्षित वर्ग समक्ष राखेर पारदर्शीताको काम गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव रोमकान्त घिमिरेले तीनै पक्ष दातृनिकाय, लक्षित समुदाय र सरोकारवालाबीच संस्थाका कार्यक्रम र बजेटबारे लेखाजोखा गरी पृष्ठपोषण आदान प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सूर्यकुमारी शाहीले स्वागत तथा सहसचिव दुर्गा अर्यालले संस्थागत प्रस्तुती गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ७ : ३४ बजे