२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

तीन तहको सरकारले उद्योगी झन अन्यौलमा परेः उपाध्यक्ष ढकाल



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले तिन तहको सरकारका कारण उद्योगीलाई कानुनी झन्झट रहेको बताउनु भएको छ । वर्तमान सरकार उद्योगी व्यापारीहरुको पक्षमा नरहेको उपाध्यक्ष ढकालले आरोप लगाउनुभयो । सरकारले विभिन्न्न वाहनामा उद्योगीहरुलाई मारमा पार्ने काम गरेको उहाँले बताउनुभयो ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित छैठौँ चन्द्रौटा ओद्यौगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको सोमबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । महोत्सवलाई सम्बोधन गर्दै उहाँले सरकारले उद्योगीलाई चाहिने कच्चा पदार्थ सहज उपलब्धता नहुनु, उद्योगीलाई करको दयारमा मात्र पार्नुले समस्या सृर्जना भएको बताउनु भयो । चन्द्रौटा कृष्णनगर क्षेत्रलाई औद्योगिक करिडोरको लागि पहल गर्ने उद्घोष गर्नु भयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा भारतका लागि नेपाली पूर्व राजदुत दीप कुमार उपाध्यायले मेला महोत्सवले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । नीजि क्षेत्र तथा सरकार बीच मतान्तर रहेको बताउनु भयो ।
तीन तहको सरकारले गर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएकोले सरकारले सहज प्रक्रिया गर्नु पर्ने बताउनु भयो । यस क्षेत्रलाई औद्योगिक करिडोर निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मेला महोत्सवले गर्दा यहा रहेको धार्मिक ऐतिहासिक क्षेत्रका प्रचार प्रसार हुने बताउनु भयो । नगरपालिकाले मेला महोत्सवलाई सहयोग गर्दै आएको बताउनु भयो । महोत्सवमा स्थानीय उत्पादनले महत्व पाएको पाउनु पर्ने बताउनु भयो ।
राजपा नेपालका केन्द्रिय सचिव रविदत्त मिश्राले मेला महोत्सवले गर्दा समुदायमा भाईचाराको सम्बन्ध स्थापित हुन बताउनु भयो । मेलामा स्थानीय उत्पादन तथा कृषिमा विशेष जोड दिनु पर्ने बताउनु भयो ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुमा प्रदेशको राजधानी राख्नका लागि सहज पहल गर्दा अति उत्तम हुने बताउनु भयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक जमशेर अलिले मेला महोत्सवले कपिलवस्तुको गरिमा बढाएको बताउनु भयो । मेलामा कपिलवस्तुका विभिन्न ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पहल गरेको बताउनु भयो ।
सोमबारदेखि सुरु भएको महोत्सव पुष २६ गते सम्म लाग्ने मुल आयोजक समितिका संयोजक मियाले जानकारी गराउनु भयो । कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको हो ।
महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन, विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहने जनाइएको छ । मेलामा बालउद्यान, झुँला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
महोत्सवमा २ सय बढि स्टल रहेको छ । महोत्सवबाट १ लाख दर्शक भित्राउने लक्ष्य राख्नुका साथै महोत्सवमा १ करोड बरावरको कारोबार गर्ने लक्ष्य रहेको संयोजक मियाले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ७ : ४६ बजे