२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

कपिलवस्तुबाट ‘हिनताभाव’ र ‘सामन्तबादको अवशेष’ बोकेका नेता चुनेछौँः पौडेल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुलाई प्रदेश ५ को स्थायी राजधानी बनाउनु पर्दछ भन्ने अभियानका संयोजक पोमनारायण पौडेलले कपिलवस्तुबाट चुनिएका नेताको ‘कटु’ आचोचना गर्नुभएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामको बहस चलिरहेको सन्दर्भमा पौडेलले यस्तो कुरा बताउनु भएको हो ।
रेडियो मायादेवीको विहानी कार्यक्रम समय संवादसंग विहिबार कुरा गर्दै उहाँले कपिलवस्तुबाट चुनिएका नेताहरुमा कुनै दीर्घकालिन योजना पनि नभएको र हिनताको भावले ग्रसित भएको भन्दै आलोचना गर्नुभयो । प्रदेश नम्बर ३ ले भर्खरै प्रदेशको नाम र स्थायी राजधानी तोकिसकेको अवस्थामा प्रदेश ५ ले अझैसम्म नाम र राजधानी टुङ्गो लगाउन नसक्नु विडम्बना रहेको भन्दै अपरिपक्व नेताहरुका कारण यस्तो भएको उहाँको ठम्याई छ । कपिलवस्तुमा स्थायी राजधानी तोक्ने बलिया आधारहरु रहेको भन्दै ती आधारहरु प्रस्तुत गर्न पनि नेताहरुले खुट्टा कमाएको उहाँले आरोप लगाउनु भयो ।
हिजो नेताहरुले चुनावी एजेण्डा बनाउँदा नै गल्ती गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–“बुटवलमा विष्णु पौडेल, बालकृष्ण खाँण, दाङमा शंकर पोख्रेल लगायतले प्रदेशको राजधानी बनाउने ‘ब्ल्याकमेलिङ’ले चुनाव जिते, हाम्रा नेताहरुले राजधानीको कुरा गर्दै गरेनन् । जसले गर्दा अहिले दबाब सिर्जना गर्न पनि गारो भइरहेको छ ।” उहाँले थप्नुभयो, ‘राजधानी बनाउने कुरा त कता हो कता ? रुपन्देहीका नेताको चेपुवामा परेर भित्रभित्र बुटवलको लागि नै हस्ताक्षर गर्दै हिँडे ।’ नेकपाको केन्द्रमा शक्ति भएका रुपन्देही र दाङका नेताको मुलभुलैयामा कपिलवस्तुका सांसद र नेता पर्नु जिल्लाबासीको लागि निकै दुखद् भएको भन्दै पौडेलले आक्रोश पोख्नुभयो ।
नेकपाका महासचिव जस्तो गरिमा बोकेका विष्णु पौडेल, सरकारको प्रवक्ता समेत रहेका बैजनाथ चौधरीजस्ता नेताले बुटवललाई बोकेर हिडेको भन्दै यो गलत भएको उहाँको भनाई छ । उहाँहरु आदणरणी नेता भएको भन्दै बुटवलको मात्र नभएर उहाँहरुले देशभरकै कुरा बोल्नु पर्ने उहाँले आवश्यकता औँल्याउनु भयो । सामाजिक अभियान्ताको रुपमा रहनु भएका पौडेलले पछिल्लो समय कपिलवस्तु राजधानी भन्ने विषयमा राजनैतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधि एक ठाउँमा उभिनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउनु भयो ।
उहाँले प्रदेश राजधानीको लागि कपिलवस्तुभन्दा उत्तम विकल्प अर्को भए अभियान नै छाडिदिने घोषणा गर्नुभयो “हाम्रा तथ्य र आधारबाहेक अरु कहिँबाट तथ्यपरक ढंगले उपयुक्त विकल्प आउँछ भने हाम्रो कुनै विमती छैन । मैले आधारहिन र मनोगत कुरा गरेको छैन । कपिलवस्तुका अधिकांश पालिकाहरुमा यसको लागि प्रशस्तै जग्गा छ उहाँले भन्नुभयो ।” उहाँले आगामी माघ ५ गते हुने प्रदेश सभाको वैठकले उपयुक्त निर्णय गर्नेमा आशा ब्यक्त गर्नुभयो । प्रदेश ३ को राजधानी हेटौँडा बन्नु कपिलवस्तुको लागि राम्रो सन्देश भएको उहाँको भनाई छ ।
बाँकी अन्तर्वार्ता हेर्नुहोस

पौडेलसंग रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जमा लिइएको अन्तर्वार्ता

प्रकाशित मिति : २ माघ २०७६ बिहिबार ००:००  ११ : १४ बजे