२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

वाणगंगा अखाद्य मह कारोबारीको अखडा, दुई जना पक्राउ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको एक सुकुम्बासी बस्ती अखाद्य मह कारोबारीको अखडा रहेको पाइएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ पूलचोक उत्तर दिशा तर्फ रहेको सुकुम्बासीबस्तीमा अखाद्य महको कारोबार भैरहेको फेला परेको हो । सुराकीको आधारमा आइतबार यहाँ गरिएको छापाको क्रममा उक्त तथ्य फेला परेको हो । कारोबारीले पूलचोकका तीन घरलाई विगत ६ महिनादेखि भाडामा लिएर कारोबार गर्दै आएको पाइएको छ । भाडामा दिइएको घर सुकुम्बासी बस्तीका हुन् । यी घरलाई सरोकारवालाले उच्च निगरानीमा राखेका छन ।
आइतबार दिउँसो गोरुसिंगेमा मह बेच्दै गर्दा स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि नेपाल मौरीपालक महासंघ कपिलवस्तुका प्रतिनिधि र प्रहरीले एक जना कारोबारी पक्राउ गरेका थिए । पक्राउ गरिएका कारोबारीसंग अनुसन्धान थालेपछि वाणगंगा पूलमा रहेको सुकुम्बासी बस्तिमा बसेर अवैध महको कारोबार हुने गरेको तथ्य फेला परेको थियो । आइतबार अपराह्नपख वाणगंगा नगरपालिका, कपिलवस्तु उद्योग वाणिज्य संघ, नेपाल मौरीपालक महासंघ र इलाका प्रहरी कार्यालय पिपराका प्रतिनिधिले यस बस्तीमा छापा हानेका थिए ।
छापाको क्रममा टोलीले चार बोरा चिनी, चार क्वीन्टल अखाद्य मह, भिरे मौरीका सढेगलेका दुई बोरा चाका, दश किलो फिड्किरी, खिया लागेका एक सय बढी टिनको बट्टा लगायत सामग्री फेला पारेको नेपाल मौरीपालक महासंघ प्रदेश ५ का सचिव लिलापति घिमिरेले बताउनुभयो ।
कारोबारीहरु ४० जना भन्दा बढी रहेको पाइएको छ । भारतीय नागरिकको संलग्नतामा उक्त कारोबार हुने गरेको अनुसन्धानको क्रममा देखिएको छ । बस्ती अनुगमनका क्रममा एक जना थप कारोबारी पक्राउ परेका छन । गोरुसिंगे र सुकुम्बासीबस्तीमा पक्राउ परेका दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । गोरुसिंगेमा पक्राउ परेका कारोबारीले बताएअनुसार टोलीले वाणगंगा पूलको सुकुम्बासी बस्तीमा अनुगमन गरेको नेपाल मौरीपालक महासंघ कपिलवस्तुका अध्यक्ष मोहन अधिकारीले बताउनुभयो ।
कारोबारीले नेपालका तराई र पहाडी जिल्लामा अखाद्य मह बेचविखन गर्दै आएको पाइएको छ । स्थानीयका अनुसार वाणगंगाबाट स्याङ्जा, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कास्की, दाङ, प्यूठान, रोल्पा लगायतका जिल्लामा अवैध महको कारोबार गर्दै आएका थिए । कारोबारीहरुले उक्त मह विभिन्न घरघर पुगेर गुणस्तरीय भन्दै बेच्ने गरेका छन । भाडामाथि महका चाका राख्ने उनीहरुले मान्छे हेरी प्रति किलो दुई सय देखि एक हजारसम्म मूल्य पार्ने गरेको पाइएको छ । गत बर्षपनि चन्द्रौटामा यस्तै अवैध महको कारोबार गर्ने पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ७ : २० बजे