५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

हात्तिपाइलेको औषधि निशुल्क पाइयो भनेर हेलचेक्राई नगरौंः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, वाणगंगा ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि निशुल्क पाइयो भनेर हेलचेक्राई गर्न नहुने बताउनुभएको छ । राज्यले औषधि निशुल्क दिएको हो नखाए के हुन्छ र भन्ने भ्रम त्याग्न सबैमा उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तर्रगत नगरपालिका स्तरीय बहुनिकाय अन्तक्रिया गोष्ठि कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले हात्तिपाइले रोग निवारणमा सबै पक्ष सक्रियता पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
कपिलवस्तुमा हात्तिपाइले रोग निवारणका लागि १२ बर्षदेखि अभियान सञ्चालन गरिएपनि अभियान प्रभावकारी बन्न सकेको छैन । यसले गर्दा सिंगो कपिलवस्तु देशमा बदनाम भएको भन्दै हात्तिपाइले रोग निवारणको १२ औं अभियानलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिनुभयो । औषधि प्रतिको नकरात्मक धारणा, सकारात्मक प्रचार प्रसारको कमी, औषधि प्रतिको अविश्वासका कारण अभियान सफल हुन नसकेको उहाँको भनाई छ ।
रोग निवारका लागि नगरभित्रका सम्पूर्ण नगरबासीलाई अनिवार्य औषधि खान उहाँले आग्रह गर्नुभयो । हात्तिपाइलेको औषधि आफुले हरेक बर्ष खाँदै आएको बताउँदै औषधि खाएर केही हुन्छ कि भन्ने भ्रमलाई त्याग्न पनि नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ ले हात्तिपाइलेको अभियान १२ बर्षसम्म सञ्चालन भएपनि किन सफल भएन भनेर गम्भिर रुपमा छलफल गर्नुपर्ने औल्याउनुभयो । औषधि सेवन अनिवार्य भएपनि विभिन्न गलत धारणाको कारण नखाने प्रथा हावी भएको भन्दै यसमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । औषधि नखानेलाई वडाबाट दिने सिफारिस रोक्का गरेर भएपनि औषधि वितरण गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।
समाजवादी पार्टीका नेता तथा समाजसेवी विष्णुहरि शर्माले हात्तिपाइले रोगको बारेमा आजको अन्तरक्रिया कार्यक्रमले धेरै प्रष्ट पारेको बताउनुभयो । समाजमा यसबारे प्रचार प्रसार जरुरी रहेको भन्दै सबैलाई औषधि खान आफुले प्रेरित गर्ने बताउनुभयो ।
मायादेवी मिडिया ग्रुपका सम्पादक दिपक अनुरागीले हात्तिपाइले रोग विरुद्धको अभियानलाई मिडियाबाट सक्दो सहयोग हुने बताउनुभयो । हात्तिपाइले रोगले ग्रसित व्यक्ति र निरोगी सबैलाई यो औषधि अनिवार्य भएको भन्दै समाजमा रहेको नकरात्मक बुझाईलाई मिडियाले चिर्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले हात्तिपाइले रोगको बारेमा सहजिकरण गर्नुभएको थियो । बुद्धभूमि नगरपालिकामा गत बर्षको तथ्याङ्क अनुसार ३८ जना हात्तिपाइले रोगी रहेका छन । यस्तै नगरभित्र यो रोगको लक्षण अन्तर्रगत पर्ने हाइड्रोशिलका विरामी ४६ जना रहेका छन भने ४ जनामा भर्खरै संक्रमण देखिन थालेको स्वास्थ्य शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा १० वटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । माघ २५ गते हात्तिपाइले रोग निवारण नभएका जिल्लामा निशुल्क औषधि वितरण कार्यक्रम छ ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ६ : ५२ बजे