७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

प्रदेश ५ मुलुकको आर्थिक हब बन्न सक्छः मुख्यमन्त्री पोखरेल



बुटवल ।
प्रदेश ५ मुलुकको आर्थिक हब बन्न सक्ने सम्भावना रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । बैठकमा प्रदेशले आयोजना गर्न लागेको “लगानी सम्मेलन” तथा विविध आर्थिक गतिविधिहरुका बारेमा छलफल भएको थियो ।
मुख्यमन्त्री पोखरेलले बैठकमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा जानकारी गराउनुका साथै प्रदेश ५ मा भएका विविध लगानीका अवसरहरु तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले प्रादेशिक स्तरमा बैंकिङ्ग सेवा विस्तार गर्नको निमित्त नेपाल राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनहरुको बारेमा जानकारी गराएका थिए ।
साथै यस प्रकारको सम्मेलनले वित्तीय साक्षरता तथा बैकिङ्ग पहुँच बढाउन थप मद्दत मिल्ने धारणा व्यक्त गरेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक हिसाबमा लगानी बढाउन तथा वित्तीय पहुँच विस्तार गर्नका निमित्त संघका पदाधिकारीहरुले विभिन्न रायरसुझाबहरु पेश गर्नुका साथै प्रदेश सरकारको आर्थिक मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघका प्रतिनिधिहरु सहितको एक कार्यदल गठन गरि अगाडि बढ्न उपयुक्त हुने धारणा समेत राखेका थिए । उक्त बैठकमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ६ : ४३ बजे