१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

गलैंचा बुनेर आत्मनिर्भर बन्दै बुद्धभूमि बसन्तपुरका महिला



दीपा महत, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १ बसन्तपुरकी सरस्वती जिसी आजभोलि निकै ब्यस्त देखिनुहुन्छ । बिहान बेलुका घरधन्दा त छदै छ जिसी दिउँसोको समयमा पनि खाली बस्नुहुन्न । बिहान घरको काम धन्दा सबै सकाएर उहाँ गलैंचा बुन्न जानुहुन्छ गाउँमै रहेको बसन्तपुर सामुदायिक वनको भवनमा । दिउँसो आफुले भ्याएजति काम गर्नुहुन्छ र साँझ पुनः घर फर्कनुहुन्छ । यो सब आजभोली उहाँको दैनिकी बनेको छ ।

बसन्तपुरकै शोभा श्रेष्ठ पनि बिहान सबेरै उठ्नुहुन्छ । घरको सबै काम सकाएर श्रेष्ठ पनि गलैंचा बुन्न सोही भवनमा पुग्नुहुन्छ । उहाँको घरमा सासु, ससुरा, श्रीमान र एक छोरी पनि छिन् । “घरमा सासु, ससुरा पनि हुनुहुन्छ, छोरीलाई पनि स्कुल पठाउनुपर्छ, विहान सबेरै उठेर सबै काम गर्छु उहाँले भन्नुभयो, “सबै घरायसी काम सकाएर गलैंचा बुन्न छिट्टै निकिन्छु ।”
सरस्वती र शोभा मात्र होइन उहाँहरु जस्तै त्यस क्षेत्रका २०–२५ जना महिलाहरु आजभोलि गलैंचा बुन्न व्यस्त छन् ।

बुद्धभूमि नगरपालिका वडा नं. १ मा रहेको बसन्तपुर सामुदायिक वनले ३ वर्ष अघि स्थानीय ५० महिलालाई गलैंचा बुन्ने तालिम दिएको थियो । सोही तालिम लिएका महिलाहरु आजभोली ब्यवसायिक रुपमै गलैंचा उत्पादनमा लागेका हुन् । गलैंचा बुन्ने काम मसिनो हुने भएकाले मेहिनेत बढी लाग्ने, धेरै समय खर्चिनु पर्ने महिला उद्यमी सरस्वती जिसी बताउँनुहुन्छ ।
महिलाहरुले बुनेका गलैंचा बेच्नका बजारीकरणको कुनै समस्या छैन् । “जति बुन्न सक्यो त्यति आफुलाई फाइदा हुने हो, काम मसिनो र धेरै समय लाग्छ, सबैभन्दा खुसीको कुरा त गलैंचा तयार भयो भने बजारीकरणको समस्या नै छैन्, जिसीले भन्नुभयो, “अलिकति भाउ बृद्धि भयो भने मालामाल हुने थियो ।”
गलैंचा बुनेरै तीन वर्षमा २ देखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको महिला उद्यमी शोभा श्रेष्ठको भनाई छ । “श्रीमानले पनि कमाउनुहुन्छ, घरमा सासु, ससुरा र छोरी पनि छिन्, एक जनाको मात्र कमाइले घर चलाउन निकै समस्या थियो, आजभोली गलैंचा बुन्न थालेपछि घरखर्च धान्न सजिलो भएको छ, श्रेष्ठले मायादेवीसंग भन्नुभयो– “म अरु महिलाहरुलाई पनि समयको सदुपयोग गर्न सुझाव दिन्छु ।”

स्थानीय महिलाको माग अनुसार उनीहरुलाई तालिम दिएको बसन्तपुर सामुदायिक वनका अध्यक्ष पन्चम सिंहले बताउनुभयो । तीन वर्ष अघि वनले दिएको तालिमबाट अहिले त्यस क्षेत्रका महिलाहरु आत्मनिर्भर बनेको उहाँले सुनाउनुभयो । “तालिमले महिलाहरु स्वरोजगार बनेका छन्, आगामी दिनमा पनि यस्तै अन्य महिलाका लागि तालिम संचालन गर्ने योजना बनाएका छौं”-‘अध्यक्ष सिंहले भन्नुभयो ।’

वनलाई वडा नम्बर १ बाट १ लाख रुपैयाँ आर्थिक सहयोग भएकाले अब अर्को तालिम संचालन गर्ने तयारी भैरहेको उहाँले सुनाउनुभयो । महिलालाई आत्मनिर्भर बनाई उद्यमी बनाउने र आर्थिक उपार्जनमा जोड्ने उद्देश्य सहित तालिम संचालन गरिएको अध्यक्ष सिंहको भनाई छ ।

बुद्धभूमि नगरपालिका वडा नं. १ ले पनि महिला लक्षित विभिन्न तालिम संचालन गरिरहेको छ । वडाभित्रका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित विभिन्न किसिमका तालिम संचालन गरिएको अध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ ले बताउनुभयो । बसन्तपुर सामुदायिक वनले महिलालाई उद्यमी बनाउने काम गरेको भन्दै सामुदायिक वनलाई आगामी दिनमा पनि यस प्रकारका तालिमहरु संचालन गर्न वडाध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ । “नतिजा देखिने गरी काम गरे वनलाई वडाले आवश्यक सहयोग गर्छ, उहाँले थप्नुभयो ।”

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ५ : २४ बजे