१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रदेश ५ को नामांकनमा मगरात घुसाउन माग, आन्दोलनकै रुपमा दिवस मनाउँदै मगर संघ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका मगर समुदायका अगुवाहरुले प्रदेश नं. ५ को नामांकनमा मगरहरुको पहिचान झल्किने गरी नाम समावेश गर्न माग गरेका छन् । प्रदेशमा मगर समुदायको बाहुल्यता रहेको तथ्य प्रस्तुत गर्दै मगर समुदायका अगुवाहरुले पहिचानसहितको नामांकन गर्न माग गरेका हुन् ।

३८औं मगर राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बुधबार वाणगंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघकी केन्द्रिय सदस्य लक्ष्मी सारुले प्रदेशको नामांकन मगर समुदायको पहिचानमा आधारित हुनुपर्ने माग गर्दै हालै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको स्मरण गर्नुभयो । पहिचानका लागि नेपाल मगर संघ विगत बर्षहरु देखि शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै यो पाली आन्दोलनलाई निर्णायक विन्दुमा पुर्याउने जिकिर गर्नुभयो । प्रदेश ५को नामाकरण यही बर्ष हुने प्रवल सम्भावना रहेको भन्दै उहाँले आफुहरु आफ्नो समुदायको पहिचान झल्किने गरी नाम राख्न माग गर्दै शान्तिपूर्ण संघर्षमा उत्रिएको बताउनुभयो । विहीबार मगर समुदायले मनाउन थालेको एकता दिवस संघर्षको एक हिस्सा रहेको पनि उहाँको जिकिर थियो ।

मगर संघका प्रदेश सदस्य कुल बहादुर सोमैले नेपाल नामाकरण नहुँदै प्रदेश ५ का अधिकांश क्षेत्रमा मगर राज्य भएको इतिहास भेटिने दाबी गर्नुभयो । देशको नाम भन्दा पहिला नै मगर राज्य भएको बताउँदै अहिले संघीय राज्य कामय हुँदा पहिचान मेटाउन खोज्नु दुःखत कुरा भएको गुनासो गर्नुभयो । विगत देखि नै आफुहरुले प्रदेश ५ मा मगरात स्वायत्त प्रदेश कायम गर्न माग गर्दै आएको भन्दै अहिले पनि यसैको लागि शान्तिपूर्ण संघर्षमा अगाडी बढेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै नेपाल मगर संघ प्रदेश ५ का सदस्य कुल बहादुर सोमै ।

नेपाल मगर संघ कपिलवस्तुका अध्यक्ष मोहन सिंजालीले मानव सभ्यता, संस्कृती र भुगोलका हिसाबले प्रदेश ५ को नामाकरण पहिचान सहित हुनुपर्नेे माग आफुहरुको उठाएको बताउनुभयो । प्रदेशको जनसंख्याको हिसाबले मगर समुदायको बाहुल्यता हुनु, प्रदेश ५ का अधिकांश खोलानाला, विभिन्न ठाउँ मगर भाषा, संस्कृतिकै आधारमा कायम हुनुले मगर समुदायको इतिहास गर्भिलो रहेको उहाँले बताउनुभयो । प्रदेश ५ को नामाकरण लुम्बिनी राख्दा आपत्ति नहुने भन्दै लुम्बिनी सहित लुम्बिनी–मगरात अथवा लुम्बिनी–मगरात–थारुवान राखेपनि आफुहरुलाई मान्य हुने बताउनुभयो । आफुहरुको माग जातीय राज्यका आधारमा नभई पहिचानका आधारमा रहेको उहाँले प्रष्ट्याउनुभयो ।


वाणगंगामा दिवसको तयारी पूरा
नेपाल मगर संघ कपिलवस्तु अन्र्तगत वाणगंगाको वडा इकाई समिति वडा नं. १० ले विहीबार पटना धरमपुर खेलकुद मैदानमा ३८ औं मगर एकता दिवस मनाउन गैरहेको छ । आयोजकले बुधबार वाणगंगामा पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ५ का प्रदेश सांसद विष्णु पन्थीले विहान ११ बजे उद्घाटन गर्ने गरी कार्यक्रमको सम्पूर्ण तयारी गरिएको वडा इकाई अध्यक्ष खुम बहादुर रानाले बताउनुभयो । कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक प्रस्तुतीसंगै पहिचान झल्कने भेषभूषा, कला र खानाका परिकार राखिने अध्यक्ष रानाले बताउनुभयो ।

वाणगंगा १० को पटनामा आयोजित कार्यक्रमको तयारीबारे पत्रकार सम्मेलनमा जानकारी दिदै ईकाइ अध्यक्ष खुम बहादुर राना ।

नगरस्तरीय कार्यक्रम आयोजना गरिएको भन्दै सम्पूर्ण मगर समुदायलाई कार्यक्रममा उपस्थितीका लागि आयोजकले आग्रह गरेको छ । संघका वाणगंगा नगर कमिटी अध्यक्ष पिताम्बर सिंजालीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा सल्लाहकार कुल बहादुर सोमै, शिव बहादुर सोमै लगायत वाणगंगा क्षेत्रका आधा दर्जन पत्रकारको उपस्थिती रहेको थियो ।


कपिलवस्तुमा छन २२ हजार बढी मगर जाती
कपिलवस्तुमा २२ हजार बढी मगर जातीको बसोबास रहेको नेपाल मगर संघ जिल्ला समिति कपिलवस्तुले जनाएको छ । विभिन्न पहाडी जिल्लाबाट बसाई सरी आएका मगर जातीहरु पछिल्लो समय कपिलवस्तुमा बढ्दै जान थालेका छन् । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा २२ हजार मगर जातीको बसोबास रहेको पाइएको छ ।
तर, मगर संघ कपिलवस्तुले यो जनसंख्या निकै कम रहेको दाबी गरेको छ । संघका अनुसार तराई झरेपछि आफ्नो थर फेर्दा यो जनसंख्या घट्न गएको ठहर छ । अबको झण्डै २ बर्ष पछि हुन लागेको राष्ट्रिय जनगणना पूर्व नै मगर जातीको यथेष्ट तथ्याङ्क संकलन गर्ने गरी संघले गृहकार्य अगाडी बढाएको जनाएको छ । जिल्ला तथ्याङ्क कार्यालयको समन्वयमा कपिलवस्तु भर मगर जातीको जनसंख्या एकिन गर्ने काम मगर संघ जिल्ला समिति कपिलवस्तुले गर्न लागेको जिल्ला अध्यक्ष मोहन सिंजालीले जानकारी दिनुभयो ।
अध्यक्ष सिंजालीका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा मगर समुदायको सबैभन्दा बढी बसोबास रहेको छ भने शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बसाईसरी आउनेको दर दिनानु दिन बढीरहेको छ । बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकामा पनि मगर समुदायको राम्रो बसोबास रहेको उहाँले बताउनुभयो । कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा पनि मगर जातीको बसोबास रहेको उहाँको भनाई छ । खासगरी कपिलवस्तुमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा र रोल्पाका मगर जाती बसाईसरी आउनेको दर बढी छ ।

कसरी मनाउन थालियो मगर एकता दिवस ?
मगर समुदायका अगुवाहरुका अनुसार विं.स. २०१२ सालमा गुल्मीको भार्सेमा लाङ्घाली समाज स्थापना गरेर मगर समुदाय संगठित भएका थिए । उतिबेला पनि मगर जातीको एकता, भाषालिपि र संस्कृती संरक्षण र सम्वर्धनका लागि यो समिति गठन भएको अगुवाहरुको भनाई छ । पछि २०३९ सालमा आएर मगर जातीहरु सम्मिलत अधिवेशनबाट नेपाल मगर संघको स्थापना गरिएको थियो । त्यस पश्चात अहिले संघ नेपालका ७७ जिल्ला, प्रदेश र स्थानीय तहस्तरमा गठन भएको छ । प्रत्येक बर्ष संघले राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएको छ भने नेपालका पहिलो शहीद लखन थापाको स्मृती दिवसमा विभिन्न कार्यक्रम हुँदै आएको छ । मगर जातीको महान पर्व माघे सकराती पनि संघले भव्य रुपले मनाउँछ भने यौनाट लगायतका सांस्कृतिक पर्वहरुमा संघले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ५३ बजे