२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एक वर्षमा १६ सय ३ पीडित



बाँके ।
सन् २०१९ मा ५ नम्बर प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट १ हजार ६ सय ३ जना पीडित भएका छन् । इन्सेकले निकालेको तथ्यांकमा मानव अधिकार उल्लंघनका घटनामा दश महिला र १ सय ६१ पुरुष गरी १ सय ७१ जना पीडित भएका छन् ।
१ हजार तीन सय १५ महिला र १ सय १७ जना पुरुष ज्यादतिमा परेका छन् । राज्य पक्षबाट दुई जनाको हत्या, एक सय ४४ जनाको गिरफ्तार, चार जनालाई कुटपिट, घाइते आठ जना, यातना एक जना, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा दश जना र महिला अधिकारमा एकजना पीडित भएका छन् ।
इन्सेकका प्रदेश संयोजक भोला महतका अनुसार, सन् २०१९ मा बाल अधिकारका घटनामा दुई सय ५५ जना बालिका र २८ जना बालकपीडित भएका थिए । यो वर्ष भएका बालअधिकारका घटनामा बालविवाहमा पाँच, बेचबिखनबाट ३८ जना, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट १६ जना, बलात्कार तथा यौन दुव्र्यवहार घटनामा २ सय २० जना पीडित भए । सन् २०१८ मा १ सय १२ जना बालिका र २ सय १ जना महिला बलात्कार तथा यौन दुव्र्यवहारमा परेका थिए ।
यो वर्ष विगतमा झै महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको तथ्यांकले देखाएको छ । १ हजार ६० जना महिला हिंसामा परेका छन् । परिवारजनबाट २२ जना महिलाको हत्या भयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  ५ : २६ बजे